पुरुषको पिडा

June 21, 2025
"पुरुषको पिडा न आमाले बुझ्छिन्, न श्रीमतीले.." पुरुष - घरको मूल स्तम्भ, सम्पूर्ण परिवारको आत्मा। ऊ बुबाको रूपमा छायाँजस्तो हुन्छ, छोराको रूपमा दायित्वको भारी बोकेको हुन्छ। तर न ऊ केवल बुबा बन्न पाउँछ, न केवल छोरो - किनभने ऊ सधैं दुई पुस्ताबीच पुल भएर उभिन बाध्य हुन्छ। एकतर्फ आमाको आँखाको आशा, अर्कोतर्फ श्रीमतीको मनको अपेक्षा। तर त्यो पुरुषको आफ्नै मन? उसका आफ्नै चोटहरू ? उनीहरूलाई बुझ्ने कोही हुँदैन। जब आमा र श्रीमतीबीच भनाभन हुन्छ, त्यो भनाभन केवल शब्दको द्वन्द्व होइन त्यो त उसको आत्मा चिरिने युद्ध हो। श्रीमतीको पक्ष लियो भने, आमा भन्छिन् - "छोरो त बिहे भएपछि पराइ भइस् !" आमाको पक्ष लियो भने, श्रीमती भन्छे "तपाईं कहिल्यै मेरो साथ दिन सक्नुहुन्न।" अनि त्यो पुरुष ? उ लाज, पीडा, र विवशता बोकेर मौन हुन्छ। कसैको आँखामा आँसु नहोस् भनेर, आफ्नै आँखाभरि आँसु लुकाएर हाँस्छ। ऊ न त पुरै आमाको हुन्छ, न पुरै श्रीमतीको। ऊ केवल परिस्थितिको बिचमा अ‌ड्किएको एउटा 'मध्यवर्ती' पात्र बन्छ जो दिनरात आफन्तहरूबीच सन्तुलन मिलाउने प्रयास गर्छ। तर त्यो प्रयास कहिल्यै सराहना पाइँदैन, त्यसको माया कहिल्यै देखिँदैन, र त्यसको पीडा कहिल्यै सुनिँदैन। मानिसहरू भन्छन् - पुरुष त बलियो हुन्छ। तर त्यो बलियो भनिएको पुरुष, प्रत्येक रात चुपचाप रुन्छ। सुत्ने बेलामा सिरानीमा मुख गाडेर, "म के गरूँ?" भन्ने प्रश्नहरूसँग युद्ध गर्छ। ऊ चाहन्छ उसको आमा पनि खुशी होउन्, उसको श्रीमती पनि सम्मानित होउन। तर उसलाई थाहा छ यो युद्ध जित्ने होइन, सिर्फ सहनुपर्ने हो। पुरुष रोइदिन्छ भने समाज भन्छ- "कमजोर !" तर पुरुष मौन रहन्छ भने समाज भन्छ-"पत्थरदिल!" अनि यसरी नै, एउटा पुरुष दिन प्रतिदिन भित्रभित्रै टुक्रिंदै जान्छ, अनि कुनै दिन... पूर्ण रूपमा मौन हुन्छ जहाँ उसलाई न कसैले सम्झन्छ, न कसैले सोध्छ -"तिमी ठीक छौ?" साच्चै भन्नुपर्दा - पुरुषको पीडा, न आमाले बुझ्छिन्, न श्रीमतीले। न समाजले स्वीकार्छ, न उसले आफैँ खुल्न पाउँछ। त्यसैले... कहिल्यै कसैलाई हेरेर नबुझिने यो पुरुषको मौनता शब्दहरूमा नभए पनि, समझदारी र माया मार्फत महसुस गरिदिनुहोस्। किनभने... ऊ हरेक दिन आफूलाई भुलेर तपाईंलाई सम्झिरहेको हुन्छ ।
पुरुषको पिडा पुरुषको पिडा Reviewed by Milan on June 21, 2025 Rating: 5

बिदेशीनुको पिडा

June 21, 2025
शिवप्रसादको सपना ठूला थिएनन्।सानो पुख्र्यौली घर मर्मत गर्ने, तर, घरको ऋण, आमा-बुबाको स्वास्थ्य, छोरीको पढाइ, सबैलाई थाम्न एउटा गाउँको खेतले धान्न सक्दैनथ्यो। त्यसैले २८ वर्षको उमेरमा उनले निधारमा अभागी टिका लगाउँदै कतार उडे-सपना भित्रको आँसु लुकाउँदै। तर विदेश गएका दिनदेखि नै, उनका सपनाहरू हावा भरिएर फुटेको बेलुन जस्तै बन्दै गए। बुबा सिकिस्त बिरामी परे। शिवले कम्पनीसँग बिन्ती गरे- “केवल १० दिन बिदा देऊ, बुबा अन्तिम सासमा हुनुहुन्छ।” कम्पनीले कडा शब्दमा उत्तर दियो- “Work or quit. No emergency leave.” कम्पनीको नियम र भिसा प्रक्रियाले उनलाई नेपाल आउन दिएन। त्यसै रात आमाको फोन आयो- "बुबा गए नानी, तर तिमी किन आएनौ।" बुबा गोविन्द थापाको मिर्गौलाको रोगले निधन भयो। शिवले फोनमार्फत भक्कानिँदै भने, "आमा, मलाई बुबालाई अन्तिमचोटि हेर्न दिनुहोस् न..." शिवले महिनौंदेखि गारो काम गरेर केहि लाख पैसा पठाएका थिए-त्यही पैसाले बुबाको दाहसंस्कार भयो। आमाको आँखा टुलुटुलु फोनको स्क्रिनतिरै ठोकिने भइन्, जहाँ छोराको भिडियो कल आउँथ्यो। "शिव, तँ आएनस् भने म भोलि मरे पनि खुसी भएर जान सक्दिन..." शिव त चुपचाप कम्पनीको कोठामा कन्चुली झारेर रूँदै थिए। सुनिता, घरमा सबै थामेर बसेकी श्रीमती, छोरीको खोकीदेखि लिएर सासूको स्वास्थ्यसम्म सम्हालिरहेकी थिइन्। शिवको फोनमा जब छोरीले भन्यो- "बाबा, तपाईं कहिले आउनुहुन्छ? म त तपाईंलाई बिर्सिन थालेको छु…" शिवको अनुहार सुनियो। त्यो रात उनले अरबी मरुभूमिमा धेरैपटक चिहाएर हेरे-“नेपाल कता होला?” अन्ततः फर्कने अनुमति-तर... पाँच वर्षको चटारोपछि जब ऋण तिरे, शिवले एक दिन आमा र श्रीमतीलाई भने- "म आउँदैछु अब। केही दिनमै छोराले आमालाई चिया बनाएर पिलाउने छु म!" र त्यसैगरी बिदाई भयो, कम्पनीका साथीहरूले काख मिलाएर विदा गरे। तर… शिव काठमाडौं ओर्लिएपछि, बुटवल हुँदै घरतिर गइरहेका थिए। रातको अँध्यारो, झरि परेको थियो। बसले मोड लिंदा दुर्घटना भयो। शिवको शरीर पहिचान गर्नसमेत सकस प-यो। बोरा–बोरा पारेर शव पठाइयो। स्याङ्जाको उही पुरानै घरको आँगनमा शिव फर्किए-तर खुट्टाले हैन, काँधमा। बोरा खोल्दा टुक्रा–टुक्रा शरीर, सुनिताको चिच्याइ, आमाको मूर्छा, छोरी अंशुको "यो बाबा होइन!" भन्ने बर्बराहटले गाउँ नै स्तब्ध भयो। मृत्युपछि पनि बुबाको क्रिया गर्दा शिव फर्किन सकेका थिएनन्। अब शिवको क्रिया सुरु भयो-त्यो पनि आफ्नै घरको आँगनमा, जहाँ उनले बुढेसकाल रमाइलो गर्ने कल्पना गरेका थिए। आमाको स्वर काँपिरहेको थियो-"नानी... तैले त संसार जित्ने मान्छे थियस्। म त तेरो मुख हेरेर मर्ने रहर राखेकी थिएँ...अब त तँलाई काखमा हाल्न पनि डर लाग्छ। तेरो शरीर नै छैन, टुक्रा-टुक्रा छ...ए भगवान! किन छोराको लास हेर्नु पर्‍यो?" छोरी अंशुले प्रश्न गरिरही- "बाबा किन आउनु भएन? अब कहिले आउनुहुन्छ?" छोरी बाबालाई देखेकी थिइन् भिडियो कलमा मात्रै। उनले सोधिन्- “आमा, बोरामा के राख्नु भएको छ? बाबा त भित्र हुनुहुन्छ भने, म उहाँसँग खेल्न चाहन्छु…” कसैले जवाफ दिन सकेन। एक सानो हातले बोराको कपडा समात्यो। त्यसको गन्धले, टुक्रिएको सपना, र रोएको भविष्य बुझेको झैं गरी अंशुले आँखा चिम्ली- “बाबा... अब फेरि पनि जानुहुन्छ?” एउटा बोरा-पूरै जीवनको अन्त्य एउटा बोरा-त्यो बोरा सपनाको अन्त्य थियो। शिवको सपनाको, इच्छाको, जीवनको। सुनिताले बोरा हेरेर भनेकी थिइन्- "शिव... तिमी सारा जीवन हाम्रो लागि काम गर्दै बितायौ, अब त के भन्नु म… मलाई त तिमीले दिएको खुसी बाँड्न समेत पाइएन।" "शिव... म त तपाईंको हात समाएर बुढेसकाल बाँड्ने सपना देखेकी थिएँ। आज हजुरको शरीर नै समाउन सकिन... तपाईले लाउनु पर्ने न्यानो कपडा आज शवहरु संगै जलाउन खोजिरहेकी छु। कसले सोचेको थियो हाम्रो मिलन यस्तो हुनेछ!" छोरी अंशुले अन्तिम चोटि बोरातिर हेरेर बिन्ती गरिन्- "बाबा... मसँग खेल्न आउनु न... स्कुल जान ढिलो हुन्छ... हामीलाई फेरि पनि छाडेर जानुभयो?" क्रियामा १३ दिनसम्म रोइरहे आमा। श्रीमतीले शिर मुडाएर भनिन्- "ऊ बाँचुन्जेल परिवार पाल्ने सपना देख्थ्यो, मरेपछि पनि परिवारलाई नै बोझ बनेर फर्कियो। अब त भगवान्ले केही न्याय गरून… यो पाप, अब अर्का नेपाली छोराको भाग्य नबनोस्…" छोरी अंशुले बोरालाई हेर्दै भनिन्- "आमा, बाबा त यो बोरामा छैनन् नि। उहाँ त मेरो स्कुल आउनुहुन्छ भन्नु भएको थियो… अब म कसलाई 'हाम्रो बाबु' भनेर लेखूँ?" सुनिताले छोरीको निधार चुमिन्, तर आँसुले उसको अनुहार नुहायो। श्राद्धको दिन, आमाले अग्निमा कागलाई बोलाउँदा भनिन्- "शिव... तँ यो जन्ममा पीडामा गइस्, अर्कोपल्ट आफ्नै देशमै जन्मिनु बाबु, आफ्नै धुलोमा, आफ्नै आँगनमा..." "जब मानिसहरू विदेश जान्छन्, उनीहरू सपनाका लागि जान्छन्, तर धेरैजसो फर्कँदा उनीहरू सम्झनाको भारी बोकेका लास बनिसकेका हुन्छन्।" "विदेशको घाममा जलेर, आफ्नै गाउँमा खरानी बनेको कथा हो- शिवको।
बिदेशीनुको पिडा बिदेशीनुको पिडा Reviewed by Milan on June 21, 2025 Rating: 5

माइतीको ढोकाबाट चुपचाप फर्किएको दिन

June 21, 2025
उषा दुई दाजुकी बहिनी थिइन् र एक भाइकी दिदी। सानैदेखि हाँसिखुसी रमाउँदै हुर्केकी थिईन्, बाबाआमाको काखमा।बिहे हुनुअघि उषाको संसार नै उही थियो - त्यो पुरानो दुईतले घर, जहाँ बिहान आमाको कराउँदो स्वरले उसको निद्रा टुट्थ्यो - "उषा, उठ न, तेरो मनपर्नेखाना पकाउँदै छु," र साँझ बुबाको कोमल हातले उसको निधारमा सुम्सुम्याउँदै भन्नु हुन्थ्यो - "तँ बिना त यो घर सुनसान लाग्छ।" बिहे भयो - उषा पराइ घर गइन्। तर माइतीघर कहिल्यै पराइ भएन। हरेक चाडपर्व नजिकिँदै गर्दा बुबाको फोन आइपुग्थ्यो - "छोरी, दशैं आउँदै छ, तेरो मनपर्ने कपडा ल्याइसकिएको छु, आमा तँ आउँछेस् भनेर तिमीलाई मन पर्ने अचार हालिरहेकी छिन्।" उषा माइती आइपुग्ने बित्तिकै फेरि बच्चा बन्थिन्। आमाको काखमा टाउको राखेर घाम ताप्थिन्।बुबाले बजारबाट किनेर ल्याएको नयाँ चप्पल जुत्याउँथिन् र बच्चाजस्तो हाँस्थिन्। र बुबा सधैं भन्ने गर्नु हुन्थ्यो -"छोरी आइपुग्छे भने घरै उज्यालो हुन्छ।" तर त्यो उज्यालो अस्ताउँदै गयो। पहिला आमा गइन् - एकाएक घरको मिठास हरायो। तर बाबाले त्यो मिठास बचाइराख्न प्रयास गरे - आफैं अचार हाल्न सिके, आफैं चिया बनाइदिन थाले। छोरी आइपुग्दा उस्तै माया, उस्तै आग्रह, उस्तै स्नेह। तर त्यसको केही वर्षमै, एक बिहान…फोन आयो - भाइको रूँदै गरेको स्वर:"दिदी… अब बाबा पनि हुनुहुन्न…बित्नु भयो" उषाको हातबाट मोबाइल खस्यो। उनले बुवाको मृत्यु भएको खबर सुनेपछि बिक्षिप्त बनिन्। टाढाको माइती ट्याक्सी रिजर्भ गरेर बुवाको अन्तिम सस्कारमा पुग्न हिडीन ! तर घर पुगिसक्दा बुवाको लास उठी सकेको थियो । बुवालाई घाटमा लगेर जलाइसकिएको थियो ! उनले अन्तिम पटक बुवाको मुख पनि हेर्न पाइनन् ! झनै बुवाले हिजो गर्ने माया र त्यो घरमा पुग्दा गरेका माया र बोलेका शब्दहरु सम्झेर रुन सुरु गरिन ! उनलाई बच्चा देखि कै पुराना कुराहरु फिलिम हेरे जस्तै सरसर्ती याद आइदिए ! रुन सम्म रोईंन थाकेर आफै रुवाइ सकिएको थियो उषाको ! सधै ढोकामा उभिएर खोल्ने बुवा, बाटो सम्म लिन आउने बुवा अब मात्र बाँकि थियो त फोटोमा टाँसिएको बुबाको मुस्कान मात्र बाँकी थियो। दिन बित्दै गए, बुवाको मृत्यु पछि त्यो पहिलो चाडपर्व आयो - बुबा र आमा विना। उषाले पर्खिइन् -भाइको फोन होला कि, दाजुहरूको निम्तो होला कि -तर आयो केवल एक औपचारिक म्यासेज: "तीज आउँदै छ, सम्झनुभएको होला।" उषा आफैं गइन् -भाउजुहरूको व्यवहार शिष्ट थियो, तर टाढा, उँहाहरुको अनुहारमा माया थिएन।बुहारीहरूले नमस्ते त गरिन्, तर आँखामा माया थिएन।दाजुभाइ त्यही थिए -तर उनीहरूको बोली बन्धनमा थियो, शायद भाउजुहरूको अनुमति नपाई माया देखाउनु हुँदैन भन्ने डर। त्यस रात उषा एक्लै बुबाको कोठामा गइन्। कुनै समय जहाँ बुवाको मायालु हातले निधार छोथ्यो, आज त्यही कोठा चिसो थियो, रित्तो, सुस्केरा भरिएको। बुवा आमाको गन्ध थियो त्यो कोठामा ! झल्झली सम्झी उषाले ! "बाबा, तपाई हुनुहुन्न भने यो कोठा कोठा मात्रै रहन्छ, घर होइन। र तपाइँहरू दुबै नभएपछि… यो माइतीघर पनि माइती रहँदैन।" पहिले जस्तो चाडपर्व अब उषाका लागि रमाइलो थिएन ! भाउजू र बुहारीहरूलाई लिएर माइत गए दाई, भाइ ! उ त झनै एक्लै भै घरमा ! खान पकाएर छोडेका थिए भाउजु बुहारीले ! तताएर खाइ र ढोकाको चापी लगाएर जुत्तामा राखी र उषा पनि लागि आफ्नै घर तिर । एकदिन उषाकी छोरीले सोधी - "आमा, तपाईं माइती जान्नुभएको छैन?" धेरै बेर मौन रहिन्, अनि बिस्तारै भनिन् - "जाने रहर त अझै छ बाबु, तर त्यहाँ अब न आमाको काख छ, न बाबाको त्यो मिठो बोली। अब त्यो घर त बाँकी छ, तर त्यो घरभित्र मेरो 'आफ्नोपन' छैन। अब त्यो माइती होइन - सम्झनाको एउटा पुरानो पानामात्र हो।" माइतीघर, छोरीका लागि केवल ईँटा–काठको संरचना होइन। त्यो घर त मायाको परिभाषा हो - जहाँ बिहान आमाको काखमा चिया पिउँदै दिन सुरु हुन्थ्यो, र साँझ बुबाको बोलावटले मन उज्यालो हुन्थ्यो। तर जब ती दुई अनुहार हराउँछन् -आमाको काख र बुबाको मुस्कान - त्यसपछि त्यो घर छोरीका लागि रित्तो बगैँचाजस्तो बन्छ। दाजुभाइ अझै माया गर्छन् होला, तर भाउजुहरूको आँखा र व्यवहारको डरले त्यो माया गुम्सिन्छ।बोल्न नपाउने, उपहार दिन नहुने, सम्झनामा मात्रै बाँकी त्यो स्नेह -छोरीको लागि दुःखदायी मौनतामा परिणत हुन्छ। एकदिन त्यो क्षण आउँछ, जब छोरी आफ्नै माइतीको ढोकाबाट फर्किन्छे, र आँसु पुछ्दै आफैंसँग भन्छे "अब त्यो घर माइती जस्तो लाग्दैन…" बाबाआमा नहुँदा,त्यो माइतीघरमा छोरीको अधिकार सकिंदो जान्छ। भाउजुहरूका औपचारिक व्यवहार, बुहारीहरूको चुप दृष्टि, र दाजुभाइको ओठमा हराएको स्नेह - यी सबैले गर्दा, छोरी आफ्नै माइतीमा पाहुना महसुस गर्छे। बिहे गरेर गएकी छोरीका लागि माइतीघर तबसम्म ‘आफ्नो’ रहन्छ, जबसम्म बुवा आमा सास फेर्दै हुन्छन्। तर जब ती दुई अनुहार हराउँछन्, त्यो घरमा छोरीको अधिकार होइन, सम्झना मात्र बाँकी रहन्छ।
माइतीको ढोकाबाट चुपचाप फर्किएको दिन माइतीको ढोकाबाट चुपचाप फर्किएको दिन Reviewed by Milan on June 21, 2025 Rating: 5

गृहिनीको जिबन कथा

June 21, 2025
घरभित्र को सबैभन्दा जिम्मेवार को हुन्छ? श्रीमान् कि श्रीमती? साँचो भन्ने हो भने — दुवै जिम्मेवार हुन्छन्, तर श्रीमतीको काधमा नदेखिने जिम्मेवारीको भारी धेरै हुन्छ। श्रीमान् घरको बाहिर पसिना बगाउँछन्, श्रीमती घरभित्र आँशु लुकाउँछिन्। घरमा सबैभन्दा धेरै काम कसलाई पर्छ? जवाफ छ – श्रीमतीलाई। भाँडा माझ्ने देखि बच्चा सम्हाल्ने, बिहानको नास्तादेखि रातको चुलो निभाउनेसम्म — श्रीमतीको हातले नै घरको गति चलिरहेको हुन्छ। तर ती कामको मूल्य कति? सामाजिक हिसाबले शून्य… तर भावनात्मक हिसाबले अनन्त! घरको सबैभन्दा ठूलो जिम्मेवारी को बोक्छ? जसले माया गर्छ, उसैले बोक्छ। र सायद त्यो श्रीमती नै हो, जसले सबैको मन बुझेर आफ्नो मन लुकाउँछिन्। जो आफै थाकेर पनि, घरमा अरू थाकून् भनेर सोच्दिनन्। उनी नै हो — बिना तलबको व्यवस्थापक, डाक्टर, गुरु र मनोवैज्ञानिक। घरमा सबैभन्दा धेरै माया कसलाई गरिन्छ? बच्चाहरूलाई, पाहुनालाई, अनि कहिलेकाहीं श्रीमान्लाई… श्रीमतीलाई? शायद बिर्सिन्छौँ, किनभने उनी सधैं उपस्थित हुन्छिन्, सधैं तयार हुन्छिन्, सधैं काममा व्यस्त हुन्छिन्। हामीलाई लाग्छ — उनी त "छिन् नै", तर साँचो कुरा यो हो — उनी छिन भने मात्रै घर हुन्छ। घरमा सबैभन्दा धेरै हेला कसलाई गरिन्छ? जसको कामलाई "कसैको काम नै होइन" भन्ने गरिन्छ — त्यही श्रीमतीलाई। भान्सामा घण्टौं लगाउने, बच्चाको हरेक ख्याल राख्ने, घरको हरेक कुनामा साजसज्जा दिने — तर अन्त्यमा सुन्नुपर्ने कुरा — "के गर्छेस् र घरमै बस्छेस्!" घर सम्हाल्नुमा सबैभन्दा ठूलो हात कसको हुन्छ? उनी जसले आफ्नो नामभन्दा पहिला आफ्नो घरलाई राख्छिन्। जुन दिन श्रीमती बिरामी हुन्छिन्, त्यो दिन बुझिन्छ — घरभित्रको "शान्ति", "स्वाद", "सजावट" अनि "सजगता" सबै उनीसँगै सुतेको रहेछ। घरको मुख्य मान्छे को हो त? जुन घरमा हरेक सदस्यको सुख–दुखको जिम्मा आफूले लिन्छ — त्यही। र त्यो धेरैजसो श्रीमती नै हुन्छिन्। तर त्यो पहिचान कहिलेकाहीँ छायाँमै हराउँछ। घर बनाउनु र बिगार्नुमा कसको हात हुन्छ? दुबैको हुन्छ, तर स्त्रीको धैर्य, माया र समर्पण बिना कुनै पनि घर "घर" रहँदैन। अनि जब त्यो समर्पण अपहेलित हुन्छ, तब घर ढल्न थाल्छ, चिसोपन बढ्छ। घर ईंटा-पर्खालले होइन, सम्झदारी, समर्पण र माया बाँड्ने श्रीमतीको अस्तित्वले बन्छ। 🙏 उनको योगदान देखिन्न होला, तर त्यसैले त घर बन्छ, सास फेर्छ, बाँच्छ।
गृहिनीको जिबन कथा गृहिनीको जिबन कथा Reviewed by Milan on June 21, 2025 Rating: 5

बिस्तारै बोल्नुस्, तर्क वर्जित छ!

August 29, 2024

 लेखक:- सरला गौतम 


हेर्न कथाका पात्र प्रकाश र उनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको स्टाटस्।

हेर्ने कथाका पात्र प्रकाशको आँसुमा भावुक बनिरहेकाहरू प्रकाश जन्माउने संरचनामाथि प्रश्न गर्दा उल्टै आक्रमण गरिरहेका छन्। प्रश्न गर्दा ‘ट्रोल’ भइने यो कस्तो चिन्तन!

सरला गौतम 

देशमा अहिले यस्तो भइरहेछ। हेर्ने कथामा पात्र बनाइएका प्रकाश नामका पात्रले नागरिकता पाउने भए। सामान्य तरीकाबाट होइन, प्रधानमन्त्रीकै निर्देशनबाट। १० वर्षको उमेरमा काठमाडौंबाट हराएका प्रकाश हेर्ने कथाको फिल्मी पर्दामा ३५ वर्षपछि भेटिए।

उनको कथा हेरेर प्रधानमन्त्री भावुक भए। प्रकाशको जीवनमा धेरै समस्या छन्। सबैभन्दा ठूलो समस्या नागरिकताको रहेछ। यही कुरा प्रधानमन्त्रीको आशीर्वादले सल्टिने भयो। प्रकाशको कथाले हिजोसम्म आँसुमा डुबेका नेपालीको ओठमा आज हाँसो छाएको छ। आहा पिप्ली लाइभ!

नेपाल भन्ने देशलाई प्रकृतिले दिन बाँकी शायद केही राखेको छैन। बसौं बसौं लाग्ने देश छोडेर मान्छे दिनदिनै किन विदेशिएका छन्? यो प्रश्न अब नेपालीका लागि सामान्य भइसक्यो। यो देशमा रमाइलो कुरा त प्रधानमन्त्रीले बिहानै उठेर नागरिकता बाँडेको फेसबूकमा भाइरल हुनु हो।

प्रकाश १० वर्षको उमेरमा काठमाडौंबाट हराउँदा देशमा प्रजातन्त्र आइसकेको थियो। यही समयावधिमा संसारका कैयौं तन्नम देश अहिले विकास र समृद्धिको लेखाजोखा गर्दै छन्। हाम्रा तरुणलाई श्रम र पसिनाको लागि आह्वान गर्दै छन्। हाम्रा प्रधानमन्त्री फेसबूकमा भावुक हुँदै छन्, उनलाई मन पर्ने ब्रान्डको कथा हेरेर।

कथा हेरिरहँदा केपी शर्मा ओलीले के सोचे होलान्! लोकको हित गर्ने गरी प्रजातन्त्र आएको देशमा १० वर्षको बालक किन रोजगारीको खोजीमा हिंड्छ? ऊ किन हराउँछ र अचानक कथामा भेटिन्छ? संविधान र कानूनमा बकाइदा लेखिएका अधिकारका सवालहरू किन देश रुवाउने कथा बन्छन्? प्रशासन कार्यालयबाट केही घन्टामा सजिलै पाउने नागरिकताको सवाल किन चमत्कारको विषय बन्छ? यति सामान्य सेवा पाउन यत्रो महाभारत! कहाँ हरायो लोकतन्त्र, किन पुगेन लोकमा?

प्रधानमन्त्री ओली जति यो देशका नागरिक हुन्, प्रकाश पनि त्यति नै नागरिक हुन्। प्रकाशको जन्मसिद्ध अधिकार प्रधानमन्त्री ओलीले दिने बक्सिस होइन। पहुँचवालाले सजिलै पाउने अधिकार प्रकाशहरूको लागि सामाजिक अभियानको विषय किन बनिरहेछ?

मानिसका हात हातमा क्यामेरा छन्। कति वेला कसको कथाव्यथा भाइरल हुन्छ भन्न सकिन्न। कथाकारहरूको आफ्नै सीमा र तरीका हुन्छ। हेर्ने कथाको पनि आफ्नै रुचि, सीमा र क्षमता होला। उनीहरू त्यसकै परिधिमा बसेर काम गर्न पाउँछन्। ३५ वर्ष शानदार श्रम गरेका प्रकाश, दयाका पात्र देखिनु कथाकारको क्षमताको सीमा अवश्य हो। यस्तो खालको प्रस्तुति खोज पत्रकारिता हो या होइन, यो पनि बहसको विषय हो। तर अहिले मुख्य कुरा राज्य प्रमुखले देखाएको चटकी रवैयाको हो।

यूट्यूबरले जस्तो राज्य प्रमुखले कुनै नागरिकलाई दयाको पात्रका रूपमा व्यवहार गर्न मिल्छ कि मिल्दैन? श्रम गरेर बाँचिरहेको नागरिकले श्रमको मूल्य पाउने व्यवस्था हुने कि प्रधानमन्त्रीले चन्दा संकलनको व्यवस्था गर्ने? भावनाको आहालमा डुबेको देशमा तर्कको सातो गएको छ। प्रधानमन्त्रीको भावुक पोस्टमा नेपालीहरू यसरी जयजयकार गरिरहेछन्, मानौं यो देशमा एक रातमा समृद्धिको ठूलो क्रान्ति भयो।

यूट्यूबरले प्रकाशको कथा टिप्नु गलत भएन। उनको कथामा प्रधानमन्त्रीको प्रतिक्रिया पनि सामान्य हो। अधिकार पाउन आँसु भाइरल हुनै पर्ने हो भने यो चाहिं असामान्य हो। त्योभन्दा कठोर कुरा हो, हर सामान्य अधिकार र न्यायका लागि नेताको दैलो धाउनै पर्ने परम्पराको निरन्तरता।

हरेक कथाकारको कथाको विश्लेषण गरेर सकिने कुरा होइन। तर राज्यको यो खालको चटकी चरित्र चाहिं कठघरामा उभिनै पर्छ। सार्वभौम नागरिकलाई दयाको पात्र बनाउन पाइँदैन। सम्मानपूर्वक विना झन्झट पाउने अधिकारलाई बक्सिस दिए जस्तो गर्न पाइँदैन।

 सर्वप्रिय पत्रकारितामा तर्क वर्जित हो?

अधिकार दिलाउन तीन करोड नेपालीको दुःखको कथा बनाएर सम्भव नहोला। कुनै एक पात्रको कथाले समग्र चित्र समेट्न सके त्यसले अस्तव्यस्त राजनीतिक प्रशासनिक अवस्थालाई बदल्न योगदान पनि देला। तर सयौं कथा बनिसकेपछिको कुल परिणाम एक जना नागरिकले नागरिकता पाउनु मात्र हो भने देश आँसुमा पौडी खेल्नुको के अर्थ हुन्छ? सिनेमा नबनेका नागरिकहरूको अधिकार र न्यायको सवाल के हुन्छ?

पत्रकारिता यदि कसैलाई कहिल्यै प्रश्न नगरी सर्वप्रियताको बाटोमा लम्किरहेको छ भने त्यो आफैं प्रश्नको घेरामा पर्नुपर्छ। मानिसले भोगिरहेका कुनियति मनोरञ्जनका कथा मात्र होइनन्। बिग्रेको व्यवस्थामा थलिएका नागरिकको व्यक्ति चित्र राज्यव्यवस्थाको समग्र चित्र होइन। प्रकाशकै कथामा पनि कथाकारको सामुन्ने रहेका शोषक मालिकले किन एक टिप्पणी भेटेनन्। ३५ वर्ष खेतबारीमा काम गरेको मानिसले संविधानमा भएको मोहियानी हक पाउने हो। दयामाया होइन।

प्रकाशको गृहजिल्लामा फिल्ममेकरकै वरिपरि रहेका प्रशासकलाई किन एक प्रश्न पनि गरिएन? यस्तो अपूर्ण कथा हेरेपछि दर्शकलाई भन्ने अधिकार छ- प्रश्न गरेको भए कथाको ‘फ्लो’ बिग्रन्थ्यो, बजार राम्रो हुँदैनथ्यो। प्रकाशहरू बजार होइनन्, नागरिक हुन्।

असल पत्रकार हुनु भनेको मुसुक्क हाँस्नु, बिस्तारै बोल्नु, प्रश्नशून्यताको अवस्थामा बस्नु हो भन्ने मनोविज्ञान नेपाली जनमानसमा तयार हुँदै गएको देखिन्छ। प्रश्न गर्नेलाई चण्डाल, अराजक र चरित्रहीनताको बिल्ला भिराइँदै छ। देशमा नाम चलेकै लेखक-पत्रकार तर्क र विश्लेषण गर्ने विरुद्ध जथाभावी ट्रोलिङ गर्ने अभियानमा लागिसकेका छन्। प्रश्नविहीन पत्रकारिताले तर्क, दृष्टि र दृष्टिकोणविहीन सामाजिक अवस्थाको निर्माण गर्ने हो। यति वेला त्यही भइरहेछ।

अव्यवस्थालाई प्रश्न गर्नु असजिलो कुरा हो। यसको बजार धेरै राम्रो पनि छैन। हिजो योगमायाले प्रश्न गर्दा अरुण नदीमा जलसमाधि लिनुपर्‍यो। मृदुल मुस्कान दिनेहरू सिंहासनमा विराजमान भए। आज विश्लेषण गर्नेहरू सामाजिक सञ्जालमा अग्निपरीक्षा दिंदै छन्। प्रश्नविहीनहरू दिलमा विराजमान छन्।

भारतीय फिल्म निर्देशक सत्यजित रोयले यसै भनेका होइनन्, ‘पूरै दक्षिणएशिया आँसुको राम्रो बजार हो।’

अझ मुसुक्क हाँस्नुपर्ने, खुसुक्क रुनु पर्ने केटीहरूले तर्क पेश गरे भने त उनीहरू अपराधी हुन्। कथाका पात्रहरूको आँसुको कारण के हो भनी खोजी गर्ने महिलाहरूको गजबसँग तेजोवध शुरू भएको छ। यो नौलो भने होइन।

मधेश आन्दोलन ताका सर्लाहीमा एक पात्र भेटिएकी थिइन्, गीता पासवान। जल्दोबल्दो मिहिनेती थिइन्। गरीबीको आगोमा परिश्रमले सुन झैं खारिंदै थिइन्। देशको राजनीतिक र सामाजिक अवस्थाबारे जानकार थिइन्। उनी केवल पीडाको पात्र थिइनन्। विचारको ज्वाला थिइन्। समसामयिक राजनीति र मधेश आन्दोलनको सवालमा उनको विचार लिएँ। विचार प्रसारण भएपछि मधेश हाँक्न लागिपरेको पूरै समाज उर्लिएर भन्यो, ‘एउटा गरीब मधेशी दलित महिलाको विचार कसरी हुन्छ? उनको त केवल पीडा मात्र हुन्छ।’

विचार र तर्क केही ठालुको पेवा ठान्ने समाजमा वेलावेला यस्ता अराजकता देखिनु सामान्य नै भयो। ट्रोलिङमा व्यस्त दाजुभाइ लेखक, पत्रकार, आफ्ना दाजुहरूको कफीको बाफमा बौद्धिक दर्शन देख्छन्, लेखक दाजुले जामा लगाएर नाच्दा समाधिको उत्कर्ष रूप देख्छन्। महिलाको तर्क र विश्लेषणमा सामाजिक रोग देख्छन्। सबैभन्दा ठूलो कुरा मानिसको दृष्टिको जे हैसियत हो, त्यही र त्यति नै देख्छन्।

आँसुको ‘ब्रान्डेड लोगो’ मा हराएको दृष्टिकोण 

बर्नी स्यान्डर्सको इट्स ओके टू बी एंग्री अबाउट क्यापिटालिज्म पुस्तकको पहिलो पृष्ठमै उनले पूँजीवाद विरुद्धको आक्रोशलाई वैधताको नीलो टीका लगाइदिएका छन्। उनले भनेका छन्, ‘पूँजीवादको अनैतिकतासँग हामीले बहादुरीका साथ, निर्ममतापूर्वक र विना क्षमाभाव सामना गर्नुपर्छ।’

पूँजीवादले हाम्रो लत्ताकपडा र खानामा ‘ब्रान्ड’ टाँसिदियो। यसले किसानको भकारीको बीउलाई समेत छोडेन। पानीको बोतलले लोगो भिरिसक्यो। हावा बाँकी छ। यो सबै चिजको लाइनमा कतै हाम्रो भावना पनि उभिएको त छैन?

आजको दिनमा प्रभावशाली कथाहरू यत्रतत्र सर्वत्र छन्। देशका उच्च वर्गीय बौद्धिक र शासकहरूको आँखा केवल ‘ब्रान्डेड’ कथामा पर्छ। आँसुले उपचार पाउनुभन्दा पहिला उसले ‘ब्रान्ड’ पाउन जरूरी देखिन्छ। दुःख र समस्याका कथाको पनि लोगो चाहिएको छ। भव्य छायांकन नभएका र उत्कृष्ट सिनेमाटोग्राफी नभेटेका ‘लोकल’ कथाले यो देशका कुलीन दयालुहरूको ‘टाइमलाइन’ मा ठाउँसम्म पाउँदैन। आवाज त परको कुरा हो।

हेर्ने कथा जस्ता ‘क्लासी’ कथाहरूले नेपालका कुलीन गरीबप्रेमीलाई सजिलो पारिदिएको छ। सर्वत्र आइरहने दुःखपीडाको कथाले उनीहरूको ‘क्लास’ र कुलीनताको ओज थेग्न सक्दैन। ‘ब्रान्डेड’ कथाको शिल्प, छायांकन र कथाकारहरूको प्रोफाइल ‘एलिट-फ्रेन्ड्ली’ छ। सम्भ्रान्त महिला-पुरुष आफ्नो कुलीनता कायम राखेरै गरीबको मुखपत्र बन्न सक्छन्।

यही उच्च सुरक्षित मनोभावका साथ यी कथा ‘टाइमलाइन’ झुल्काइरहन्छन्। अझ महत्त्वपूर्ण यी कथाकारहरू कसैका लागि पनि खतराका विषय होइनन्। आफ्नो बाहेक बाँकी संसारको काममा चासो र चर्चा गर्दैनन्। सार्वजनिक बौद्धिक, नेता, व्यापारी र कुनै पनि सरोकारवालालाई कहिल्यै प्रश्न र आलोचना गर्दैनन्।

‘ब्रान्डेड’ कथामा पीडा दिने मान्छेको अनुहार पनि मायालाग्दो देखिन्छ। पीडित र पीडक दुवै यस्ता कथा हेरेर आँसु बगाउन सक्छन्। आममानिसको शरीरमा कुनै कम्पन हुँदैन। मन दुख्छ, संवेदना जाग्छ, तर पीडितको आँखाको आँसुको कारण खोज्ने चेत जाग्दैन।

सिनेमामा देखाइएका पीडितका आँसुले राज्य सञ्चालकको अकर्मण्यता छेकिदिन्छ। बिचराहरूको कर्मै यस्तो भन्ने भाव दर्शकमा जगाइदिन्छ। लोकतन्त्र केवल ठालुहरूको वरिपरि घुमेको क्यामेराको लेन्सले देख्दैन। यस्ता सुन्दर कथामा ठग पनि रुन्छ, ठगिने पनि रुन्छ। कुनै वेला सबै देश एकै पटक रुन्छ। सर्वप्रिय पत्रकारिताको अनुपम नमूना यही नै हो।

यस्ता ‘भ्युजकारिता’ लाई नै सम्भ्रा‍न्तहरूले खोज पत्रकारिता भनिदिने हो भने सारा अराजकतासँग भिडेर जीवन नै जोखिममा पारेर गरिने पत्रकारिता के हो? एउटै सरोकारवालाको मन कहिल्यै नदुख्ने गरी, कहिल्यै कसैलाई रिस नउठ्ने गरी खोज पत्रकारिता गर्न कसरी सम्भव छ? सामाजिक-प्रशासनिक अराजकताको कारण नागरिकले अधिकार नपाएको कुरा हेरेपछि प्रधानमन्त्रीलाई लाज लाग्नुपर्ने हो, टाउको लुकाउनुपर्ने हो। भगवान्‌को रूपमा प्रकट भएर अधिकारको बक्सिस दिने आँट कसरी आउँछ?

यो बहसको विषय हो। सर्वप्रियताको लालच खतरनाक कुरा हो। यसले तर्क, दृष्टि र दृष्टिकोण निर्माणमा समाजलाई अघि बढ्नै दिंदैन। यही कारण देशमा प्रजातन्त्र आएको ३५ वर्षमा प्रधानमन्त्रीले नागरिकता बाँडेको कुरा मूलधारका मिडियाको ‘हेडलाइन’ बन्छ। आँसु र तमासाको ककटेल जुहारीमा देश मग्न छ।

यस्तै तमासामा रमाउँदै जाने हो भने ठीकै छ। तार्किक समाजको निर्माण गर्ने हो भने चाहिं सर्वप्रियताको बाटोको लोभ छोड्नै पर्छ। प्रधानमन्त्री, मन्त्री, कुलीन बौद्धिक र भावुक नागरिकले सोच्नै पर्ने कुरा- देश कस्तो बनाउने? प्रश्न, आलोचना, दृष्टि र दृष्टिकोण सहित अधिकारसम्पन्न या भावुकताको आहालमा डुबेको चिसो देश। नागरिकको आँसु भाइरल बनेपछि बक्सिसमा अधिकार पाउने राज्य संरचना या सार्वभौम नागरिकले सहजै अधिकार अभ्यास गर्न पाउने देश। फुर्सदमा सोचौं- लोकतन्त्र लोकसम्म किन पुगेन?

बिस्तारै बोल्नुस्, तर्क वर्जित छ! बिस्तारै बोल्नुस्, तर्क वर्जित छ! Reviewed by Milan on August 29, 2024 Rating: 5
Powered by Blogger.