घरभित्र को सबैभन्दा जिम्मेवार को हुन्छ? श्रीमान् कि श्रीमती? साँचो भन्ने हो भने — दुवै जिम्मेवार हुन्छन्, तर श्रीमतीको काधमा नदेखिने जिम्मेवारीको भारी धेरै हुन्छ। श्रीमान् घरको बाहिर पसिना बगाउँछन्, श्रीमती घरभित्र आँशु लुकाउँछिन्।
घरमा सबैभन्दा धेरै काम कसलाई पर्छ? जवाफ छ – श्रीमतीलाई। भाँडा माझ्ने देखि बच्चा सम्हाल्ने, बिहानको नास्तादेखि रातको चुलो निभाउनेसम्म — श्रीमतीको हातले नै घरको गति चलिरहेको हुन्छ। तर ती कामको मूल्य कति? सामाजिक हिसाबले शून्य… तर भावनात्मक हिसाबले अनन्त!
घरको सबैभन्दा ठूलो जिम्मेवारी को बोक्छ? जसले माया गर्छ, उसैले बोक्छ। र सायद त्यो श्रीमती नै हो, जसले सबैको मन बुझेर आफ्नो मन लुकाउँछिन्। जो आफै थाकेर पनि, घरमा अरू थाकून् भनेर सोच्दिनन्। उनी नै हो — बिना तलबको व्यवस्थापक, डाक्टर, गुरु र मनोवैज्ञानिक।
घरमा सबैभन्दा धेरै माया कसलाई गरिन्छ? बच्चाहरूलाई, पाहुनालाई, अनि कहिलेकाहीं श्रीमान्लाई… श्रीमतीलाई? शायद बिर्सिन्छौँ, किनभने उनी सधैं उपस्थित हुन्छिन्, सधैं तयार हुन्छिन्, सधैं काममा व्यस्त हुन्छिन्। हामीलाई लाग्छ — उनी त "छिन् नै", तर साँचो कुरा यो हो — उनी छिन भने मात्रै घर हुन्छ। घरमा सबैभन्दा धेरै हेला कसलाई गरिन्छ? जसको कामलाई "कसैको काम नै होइन" भन्ने गरिन्छ — त्यही श्रीमतीलाई।
भान्सामा घण्टौं लगाउने, बच्चाको हरेक ख्याल राख्ने, घरको हरेक कुनामा साजसज्जा दिने — तर अन्त्यमा सुन्नुपर्ने कुरा — "के गर्छेस् र घरमै बस्छेस्!" घर सम्हाल्नुमा सबैभन्दा ठूलो हात कसको हुन्छ? उनी जसले आफ्नो नामभन्दा पहिला आफ्नो घरलाई राख्छिन्। जुन दिन श्रीमती बिरामी हुन्छिन्, त्यो दिन बुझिन्छ — घरभित्रको "शान्ति", "स्वाद", "सजावट" अनि "सजगता" सबै उनीसँगै सुतेको रहेछ। घरको मुख्य मान्छे को हो त? जुन घरमा हरेक सदस्यको सुख–दुखको जिम्मा आफूले लिन्छ — त्यही। र त्यो धेरैजसो श्रीमती नै हुन्छिन्। तर त्यो पहिचान कहिलेकाहीँ छायाँमै हराउँछ।
घर बनाउनु र बिगार्नुमा कसको हात हुन्छ? दुबैको हुन्छ, तर स्त्रीको धैर्य, माया र समर्पण बिना कुनै पनि घर "घर" रहँदैन। अनि जब त्यो समर्पण अपहेलित हुन्छ, तब घर ढल्न थाल्छ, चिसोपन बढ्छ। घर ईंटा-पर्खालले होइन, सम्झदारी, समर्पण र माया बाँड्ने श्रीमतीको अस्तित्वले बन्छ। 🙏 उनको योगदान देखिन्न होला, तर त्यसैले त घर बन्छ, सास फेर्छ, बाँच्छ।
गृहिनीको जिबन कथा
Reviewed by Milan
on
June 21, 2025
Rating:
Reviewed by Milan
on
June 21, 2025
Rating:

No comments: