"पुरुषको पिडा न आमाले बुझ्छिन्, न श्रीमतीले.." पुरुष - घरको मूल स्तम्भ, सम्पूर्ण परिवारको आत्मा। ऊ बुबाको रूपमा छायाँजस्तो हुन्छ, छोराको रूपमा दायित्वको भारी बोकेको हुन्छ। तर न ऊ केवल बुबा बन्न पाउँछ, न केवल छोरो - किनभने ऊ सधैं दुई पुस्ताबीच पुल भएर उभिन बाध्य हुन्छ। एकतर्फ आमाको आँखाको आशा, अर्कोतर्फ श्रीमतीको मनको अपेक्षा।
तर त्यो पुरुषको आफ्नै मन? उसका आफ्नै चोटहरू ? उनीहरूलाई बुझ्ने कोही हुँदैन। जब आमा र श्रीमतीबीच भनाभन हुन्छ, त्यो भनाभन केवल शब्दको द्वन्द्व होइन त्यो त उसको आत्मा चिरिने युद्ध हो। श्रीमतीको पक्ष लियो भने, आमा भन्छिन् - "छोरो त बिहे भएपछि पराइ भइस् !" आमाको पक्ष लियो भने, श्रीमती भन्छे "तपाईं कहिल्यै मेरो साथ दिन सक्नुहुन्न।" अनि त्यो पुरुष ? उ लाज, पीडा, र विवशता बोकेर मौन हुन्छ। कसैको आँखामा आँसु नहोस् भनेर, आफ्नै आँखाभरि आँसु लुकाएर हाँस्छ।
ऊ न त पुरै आमाको हुन्छ, न पुरै श्रीमतीको। ऊ केवल परिस्थितिको बिचमा अड्किएको एउटा 'मध्यवर्ती' पात्र बन्छ जो दिनरात आफन्तहरूबीच सन्तुलन मिलाउने प्रयास गर्छ। तर त्यो प्रयास कहिल्यै सराहना पाइँदैन, त्यसको माया कहिल्यै देखिँदैन, र त्यसको पीडा कहिल्यै सुनिँदैन। मानिसहरू भन्छन् - पुरुष त बलियो हुन्छ। तर त्यो बलियो भनिएको पुरुष, प्रत्येक रात चुपचाप रुन्छ। सुत्ने बेलामा सिरानीमा मुख गाडेर, "म के गरूँ?" भन्ने प्रश्नहरूसँग युद्ध गर्छ।
ऊ चाहन्छ उसको आमा पनि खुशी होउन्, उसको श्रीमती पनि सम्मानित होउन। तर उसलाई थाहा छ यो युद्ध जित्ने होइन, सिर्फ सहनुपर्ने हो। पुरुष रोइदिन्छ भने समाज भन्छ- "कमजोर !" तर पुरुष मौन रहन्छ भने समाज भन्छ-"पत्थरदिल!" अनि यसरी नै, एउटा पुरुष दिन प्रतिदिन भित्रभित्रै टुक्रिंदै जान्छ, अनि कुनै दिन... पूर्ण रूपमा मौन हुन्छ जहाँ उसलाई न कसैले सम्झन्छ, न कसैले सोध्छ -"तिमी ठीक छौ?" साच्चै भन्नुपर्दा - पुरुषको पीडा, न आमाले बुझ्छिन्, न श्रीमतीले।
न समाजले स्वीकार्छ, न उसले आफैँ खुल्न पाउँछ। त्यसैले... कहिल्यै कसैलाई हेरेर नबुझिने यो पुरुषको मौनता शब्दहरूमा नभए पनि, समझदारी र माया मार्फत महसुस गरिदिनुहोस्। किनभने... ऊ हरेक दिन आफूलाई भुलेर तपाईंलाई सम्झिरहेको हुन्छ ।
पुरुषको पिडा
Reviewed by Milan
on
June 21, 2025
Rating:
Reviewed by Milan
on
June 21, 2025
Rating:

No comments: