Results for News

चितवनमा दलित भन्दै आमाछोरामाथि निर्घात कुटपिट, वडा अध्यक्षमार्फत मिलापत्र गर्न दबाब

May 26, 2021


 पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ९ मा दलित भन्दै गैरदलित परिवारले आमाछोरालाई कुटपिट गरेको छ ।

दुई छोरी र एक छोराका आमा कल्पना परियार एकल महिला पनि हुन । कल्पनाले श्रीमान बितेपछि घरको आर्थिक कारोबारसहित छोराछोरीको पढाई सबै हेर्दै आएकी छिन । पेशाले उनी किसानी हुन । गत मंगलबार पनि उनी बारीको काम सक्काएर साझको समयमा उनी बस्तुभाउलाई घाँस दिंदै थिईन ।  गाँउमा पैसा चोरी भएको भन्दै एक्कासी गाँउमा हल्ला आयो । पैसा हराएका छिमेकको घर सेते श्रेष्ठको घर नजिकै नै थियो ।

कल्पनाले सेते श्रेष्ठसंग आर्थिक लेनदेन गरेर केही महिनाअघि नै सबै रकम बुझादिइसकेकी थिइन् । कल्पना पनि छोरीलाई बाख्रा खोरमा हाल्नु है भनेर उनी दौडिदै सेतेको घर पुगिन । त्यहा जाने बित्तिके सेतेको श्रीमतीले कल्पनालाई हेर्दै रिसले मुरमुर्दै भनिन्र्,थुक्क दमिनी । आज दमिनीको अनुहार हेर्नुपर्यो । ’

मलाई किन तपाईले यस्तो भन्नुभएको के मात्रै बोलेकी थिइन् उनलाई सेतेको श्रीमतीले कपाल भुत्लार्न आईपुगेको कल्पनाले बताईन । आमालाई पिटेको देखेर छोरा अमृत परियार पनि छुट्टाउन गए । छोरालाई पनि सेतेका छोरा राजकुमार श्रेष्ठ भएर कुटपिट गर्न लागे । कल्पना मलाई छोड छोड भन्दै गुहार माग्दै थिईन् । गाँउका मान्छेहरु एकछिन त रमिता हेरिरहे । पछि गाँउका केही व्यक्तिहरु मिलेर छुट्याउने कोसिस गर्दै थिए । घरमा भएकी कल्पनाकी छोरीले पनि आमादाईलाई कुटेको खबर पाएपछि उनी आतुर हुँदै घटनास्थलमा आईपुगिन् । आफु त्यहाँ पुग्दा दाई र आमाको अवस्था गम्भिर नै भईसकेको थियो । पुजाले भनिन्र्, त्यसपछि मैले प्रहरीलाई खबर गरे । एकछिन म त्यहाँ नपुगेको भए मेरो दाई आमालाई मारिसक्र्थे । मैले एम्बुलेन्सलाई पनि फोन गरेर दाई र आमालाई अस्पताल लगे ।’

भरतपुर स्थित अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा अमृतको उपचार गरिएको थियो । अमृतको हातको कुमको जोर्नी भाचिएको छ भने कल्पना सामान्य घाइते छन् । पिडित परिवारले पनि दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने र मिलापत्रमा नजाने बताएका छन् । स्थानिय सरकारले भने गाँउघरको सानोतिनो घटना भनेर मिलापत्रमा जानुपर्ने भनेको कल्पनाले बताईन् ।

उपचार खर्च भने सेते श्रेष्ठका परिवारले नै गरे । सेतेका श्रीमती चिनीमाया श्रेष्ठले कल्पनालाई घटना हुनुभन्दा पहिले पनि एकल महिला भएकोले श्रीमान टोकुवा इत्यादी अनावश्यक गालिगलैजा र धम्कि दिँदै आएको स्थानिय बासिन्दाहरुले बताएका छन् ।

नेपाललाई २०६८ जेठ २१ मा जातिय छुवाछुतमुक्त घोषणा गरे पनि अहिले यसरी अमानवीय घटना गरेका राप्ती नगरपालिकाकी कार्यपालिका सदस्य आइतीदेवी दराइले बताइन् । उनले दुख व्यक्त गर्दे जातिय विभेदको कारण समुदायमा भएको यस किसिमको घटनालाइ क्षमा दिन नसकिने उनले जानकारी दिईन् । सेतेका परिवारलाई प्रहरीले पक्राउ नगरेको र सामान्य घटना भनेर छोडिदिएको दराईले बताइन् ।

राप्ती नगर स्तरिय दलित समन्वय समितिले पनि घटनाको भत्सर्ना गरेको छ । समितीका अध्यक्ष श्यामलाल विकले यस किसिमको घटनालाइ क्षमा दिन नसकिने र यस विषयमा कानुनी कारवाहीको लागि माग गरे ।

राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार उक्त घटना फौजदारी मुद्दा भएकोले कानुन अनुसारलाई पिडकलाई कारबाही हुन्छ ।अमानवीय घटना भएकोले पिडकलाई कानुनअनुसार कारबाही गरिने र मिलापत्र गर्नै नमिल्ने लामाले बताए ।

चितवनमा दलित भन्दै आमाछोरामाथि निर्घात कुटपिट, वडा अध्यक्षमार्फत मिलापत्र गर्न दबाब चितवनमा दलित भन्दै आमाछोरामाथि निर्घात कुटपिट, वडा अध्यक्षमार्फत मिलापत्र गर्न दबाब Reviewed by Milan on May 26, 2021 Rating: 5

विघटनविरुद्ध संसद् ‌भवनमा सर्वदलीय बैठक, १४९ सांसदहरू नै सर्वोच्च जाने तयारी

May 22, 2021

 

मध्यरातमा संसद् विघटन गरेर चुनाव घोषण गर्ने कदमविरुद्ध संसद् भवन बानेश्‍वरमा सर्वदलीय बैठक बसेको छ।बैठकमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्‍त्री केपी ओलीको गलत कदम खारेज गर्ने रणनीति र आन्दोलनबारे छलफल भएको छ। वैकल्पिक सरकारका लागि राष्ट्रपतिकहाँ निवेदन दिने १४९ सांसदहरू यो कदम खारेजीको माग गर्दै सर्वोच्च जानेबारेमा पनि बैठकले निर्णय गर्नेछ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई राजनीतिक, न्यायीक र नागरिस्तरबाट कसरी प्रतिवाद गर्ने भन्‍ने बारेमा छलफल हुनेछ। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका दुवै दाबी खारेज गर्दै मध्यरातमा संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको थियो। विपक्षीहरूले राष्ट्रपति र प्रधानमन्‍त्रीले संविधानमाथि जालसाजी गरेको भन्दै यो कदमलाई प्रतिगमनको संज्ञा दिएका छन्। विघटन गर्ने कदमको नागरिकस्तरबाट पनि यसको चर्को निन्दा र विरोध भएको छ। 

मध्यरातमा राष्ट्रपतिले दुवै दाबी खारेज गरेपछि रातारात मन्‍त्रिपरिषद्को आकस्मिक बैठक डाकेर संसद् विघटन र चुनावको मितिको सिफारिस गरिएको थियो। त्यसलाई राति नै राष्ट्रपतिबाट सदर गरिएको थियो।

यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर कदमलाई  सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो। विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनसमेत गरेका थिए।

विघटनविरुद्ध संसद् ‌भवनमा सर्वदलीय बैठक, १४९ सांसदहरू नै सर्वोच्च जाने तयारी विघटनविरुद्ध संसद् ‌भवनमा सर्वदलीय बैठक, १४९ सांसदहरू नै सर्वोच्च जाने तयारी Reviewed by Milan on May 22, 2021 Rating: 5

भरतपुर अस्पतालको कोभिड आइसियूको शौचालयमा छैन सरसफाइ

May 22, 2021


  

भरतपुर अस्पतालमा बनाइएको कोभिड आइसोलेसनमा सरसफाइ नभएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्। अस्पताल प्रशासनले आइसोलेसनमा बिरामी राखे पनि सरसफाइमा ध्यान नदिइएको एक सेवाग्राहीले बताए। ‘म मेरो मामाको उपचारको लागि सात दिनसम्म रेखदेखमा छु,’ आफ्नो नाम नबताउने सर्तमा उनले भने, ‘सरसफाइमा कत्ति पनि ध्यान दिइएको देखिएन। यो अस्पताल प्रशासनको गम्भीर लापारवाही हो।’ अस्पतालमा भर्ना भएको सात दिनपछि शनिबार बिहान मामाले संसार छाडे।

तर, अस्पतालमा अन्य संक्रमित पनि उपचारका लागि आउने हुँदा सरसफाइमा ध्यान दिन आफूले अस्पताल प्रशासनलाई पटकपटक सचेत गराएको उनले बताए। अस्पतालको सेवा सुविधा र व्यवस्थापनबारे सम्बन्धित निकायले समयसमयमा अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ। ‘अहिलेको परिस्थितिमा डर त सबैलाई छ, तर डर छ भन्दैमा सरसफाइ नै नगरी बिरामीलाई फोहोरमा राख्न पनि त भएन नि,’ उनले भने। पछिल्लो समय सामाजिक सञ्जालमा समेत सेवाग्राहीले यसबारे गुनासो राख्न थालेका छन्।

यस्तै फोहोर र अव्यवस्थित देखेरै भरतपुर ४ बस्दै आएका टेकलाल भुसाल अस्पतालभित्र पसेर पनि बाहिरिए। नारायणी सामुदायिक अस्पतालमा उपचाररत उनलाई संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा पठाए पनि त्यहाँको वातावरण देखेपछि भित्र पसिसकेको मान्छे पनि घर फर्किएको उनले सुनाए। ‘उपचार पाउनको लागि अस्पताल जाँदा अस्पतालमा झन् असुरक्षित हुने महसुस भएपछि राति साढे ११ बजे घर फर्किएँ,’ उनले भने, ‘अन्ततः घरमै आइसोलेसनमा बसेर १० दिनपछि संक्रमणमुक्त भएँ।’

अस्पतालको वार्डभित्र गइसकेपछि भित्रका बिरामीले ‘सिटामोलदेखि सबै तयारी आफैँले गर्नुपर्छ, यहाँ औषधि लिएर सोधपुछ गर्न कोही आउँदैनन्’ भनेपछि मनोबल नै कमजोर भएको उनले सुनाए। बिरामीका आफन्तले पनि अक्सिजन नचाहिने संक्रमितको लागि घरमै सुरक्षित हुने सल्लाह दिएपछि राति नै घर फर्किएको उनले बताए।

भरतपुर अस्पतालले भने काम गर्दै जाँदा कमीकमजोरी हुन सक्ने भन्दै त्यसलाई व्यवस्थापन गर्दै लैजाने बताएको छ। अस्पतालका प्रवक्ता डा युवाधिनि बसौलाले आफूहरुले पनि सेवाग्राहीमार्फत जानकारी पाएकोले त्यसलाई सकभर राम्रो तरिकाले व्यवस्थापन गर्नतर्फ लागेको जानकारी दिए। ‘काम गर्दै जाँदा कमीकमजोरी हुन्छ, हामीले पनि भित्र फोहोर भयो भनेर सेवाग्राहीबाटै सुनेका हौँ, किनकि हामी सामान्य अवस्थाका मान्छे त्यहाँ जाने कुरा पनि आउँदैन,’ उनले भने, ‘सेवाग्राहीबाटै मेल, म्यासेज र फोन आइरहेकोले त्यसतर्फ पनि हाम्रो ध्यानाकर्षण भएको छ।’

भरतपुर अस्पतालको कोभिड आइसियूको शौचालयमा छैन सरसफाइ भरतपुर अस्पतालको कोभिड आइसियूको शौचालयमा छैन सरसफाइ Reviewed by Milan on May 22, 2021 Rating: 5

विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै

May 22, 2021


विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि संसद विघटनबारे आगामी रणनीति तय गर्न बैठक बस्न लागेको हो।  

बैठकमा कांग्रेस, माओवादी केन्द्र, एमालेबाट विद्रोह गरेको माधवकुमार नेपालपक्ष, जसपाको डा. बाबुराम भट्टराई र उपेन्द्र यादवपक्ष उपस्थित हुने छन्।  बैठक शनिबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने माओवादीका केन्द्रका एक नेताले जानकारी दिए। 

विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै Reviewed by Milan on May 22, 2021 Rating: 5

प्रतिनिधिसभा विघटनको चौतर्फी आलोचना

May 22, 2021

 

राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको  विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका छन् ।  

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महंगो पर्ने बताएका छन्। प्रवक्ता शर्माले ट्विटरमार्फत संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महँगो पर्ने पनि चेतावनी दिएका छन्।

उनले लेखेका छन्,’अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो । बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ।’

त्यस्तै  जनता समाजबादी पार्टीका नेता बाबुराम भट्राईले  यो मध्यावधी चुनाव नभएर संघिय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने प्रपन्च भन्दै यसको विरोधमा उत्रन आग्रह गरेका छन् ।  

विघटनको विरोधमा विवेकशील साझा पार्टीपनि उत्रेको छ । पार्टीका संयोजनक मिलन पाण्डेयले  प्रम र राष्ट्रपति मिलेर संसदको हत्या  गरेको आरोप लगाएका छन्। ‘यो सत्ता कव्जा गर्ने षडयन्त्र हो,’ उनले लेखेका छन्, ‘हामी चुप लागेर बस्दैनौ ।

माओवादी केन्द्रका नेता बर्षमान पुनले लोकतन्त्रमाथीको प्रहार भन्दै संविधन कुल्चेको बताएका छन् । ‘मध्यरातमा डकैती गरियो,’ उनले ट्वीट गरेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरातमै रोज्थे ।’

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गैरराजनीतिक र गैरसंबैधानिक कदमले देशलाई काहालिलाग्दो द्धन्दमा लगेको बताएका छन्।

प्रतिनिधिसभा विघटनको चौतर्फी आलोचना प्रतिनिधिसभा विघटनको चौतर्फी आलोचना Reviewed by Milan on May 22, 2021 Rating: 5

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

May 22, 2021

 

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ ।


त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।


धारा ७६(७) मा भनिएको छ, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महीनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’


प्रधानमन्त्रीमा ओली र देउवाको दाबी पुगेन


संसद भंग गर्नुअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अस्वीकार गरेकी थिइन् ।


राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेश गरेका थिए । देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए । ओलीले भने एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए ।


तर दुवैको समर्थनकर्ता भनिएका सांसदहरु एकअर्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखेर आएको भन्दै राष्ट्रपतिले दुवैको दाबी नपुग्ने निर्णय गरेकी थिइन् ।

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव Reviewed by Milan on May 22, 2021 Rating: 5

विनाकाम सवारीसाधन कुदाए दुई पांग्रेलाई दुई हजार, अन्यलाई ५ हजार रुपैयाँ जरिबाना हुने

May 21, 2021

 

निषेधाज्ञाको समयमा अनुमतिविना सवारी साधन चलाए जरिबाना तिर्नुपर्ने भएको छ । अनुमतिविना वा सुरक्षाकर्मीलाई जानकारी नदिइ वा बिरामी ओसारपसार गर्ने अवस्था बाहेक सवारीसाधन चलाए जरिबाना तिराउने गरी सरकारले अध्यादेश ल्याएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ (ग) मा भनिएको छ, ‘अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ जरिवना हुनेछ ।’

सुरक्षाकर्मीले ती सवारीसाधनलाई निश्चित समय नियन्त्रणमा लिनसक्ने पनि भनिएको छ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ जरिबाना तिराउन सक्ने पनि व्यवस्था गरिएको छ ।

मानिसको आवतजावतमा रोक लगाइएको अवस्थामा उल्लंघन गर्नेलाई भने दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

हालै सर्वोच्च अदालतले निषेधाज्ञाको उल्लंघन गर्नेलाई जरिबाना र होल्न नगराउन आदेश दिएको थियो । अदालतले त्यससम्बन्धी कानून नभएको भन्दै कारबाही गर्न रोक लगाएको थियो ।

विनाकाम सवारीसाधन कुदाए दुई पांग्रेलाई दुई हजार, अन्यलाई ५ हजार रुपैयाँ जरिबाना हुने विनाकाम सवारीसाधन कुदाए दुई पांग्रेलाई दुई हजार, अन्यलाई ५ हजार रुपैयाँ जरिबाना हुने Reviewed by Milan on May 21, 2021 Rating: 5

म सरकार चलाउन सक्दिनँ, दिक्क भइसकेँ : प्रधानमन्त्री

May 21, 2021

 

प्रधानमन्त्री केपी ओलीले आफू सरकार चलाउन दिक्क भइसकेको बताएका छन् । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आफूले थप सरकार चलाउन नसक्ने बताएका छन् ।

सरकार चलाउन नसक्ने भएकै कारण आफूले  विश्वासको मत लिने प्रक्रियामा नगएको बताए। विरोधैविरोधका बीच आफूले सरकार चलाउन नसक्ने भन्दै वैकल्पिक सरकार लिएर आउन विपक्षी गठबन्धनलाई आग्रह गरे । घेराबन्दी गरेर सरकार असफल बनाउने अनि दोषजति मेरो टाउको हाल्ने काम नगर्न विपक्षी गठबन्धनलाई आग्रह गरे ।

म सरकार चलाउन सक्दिनँ, दिक्क भइसकेँ : प्रधानमन्त्री म सरकार चलाउन सक्दिनँ, दिक्क भइसकेँ : प्रधानमन्त्री Reviewed by Milan on May 21, 2021 Rating: 5

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

May 20, 2021

 



निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित Reviewed by Milan on May 20, 2021 Rating: 5

राप्ती नगरपालिकाको कार्यालयमा जेठ १३ गते सम्म अत्यावश्यक बाहेक अन्य सेवा बन्द

May 20, 2021

 

राप्ती नगरपालिकाको कार्यालयबाट प्रदान हुने सेवा बन्द भएको छ। जेठ ५ गते एक सुचना जारी गरि सेवा बन्द हुने जानकारी गराइएको छ।

कोरोना भाइरसले राप्ती नगरपालिका, भण्डारा चितवनमा समेत भयावह अवस्था भइ यही जेठ ५ गते सम्म अत्यावश्यक बाहेकका नियमित सेवाहरु बन्द गरिएको र दिनानुदिन संक्रमण फैलिदै गएकोले चितवनका जिल्ला प्रमुख अधिकारीबाट जारी आदेश अनुसार यही जेठ १३ सम्म नियमित सेवा बन्द गरिएको सुचनामा उल्लेख छ।



राप्ती नगरपालिकाको कार्यालयमा जेठ १३ गते सम्म अत्यावश्यक बाहेक अन्य सेवा बन्द राप्ती नगरपालिकाको कार्यालयमा जेठ १३ गते सम्म अत्यावश्यक बाहेक अन्य सेवा बन्द Reviewed by Milan on May 20, 2021 Rating: 5

चितवनमा कोरोनाबाट मृत्यु हुनेको दाहसंस्कार गर्न २८ हजार शुल्क लाग्ने!

May 18, 2021


 चितवनमा कोरोनाबाट मृत्युहुनेको अन्तिम संस्कारमा ठुलो रकम असुलेने गरेको पाईएको छ। दाहसंस्कार गरेबापत एकजना बराबर को २८ हजार लिने गरेको पाइएको छ। 

आफ्ना मान्छे गुमाउनुको पिडा त छदैछ मृतकको आफन्तलाई, उनीहरुमाथी थप आर्थिकभारको पिडा पनी थोपिएको छ।

उक्त रकम शव ब्यवस्थापन गर्ने जिम्मा पाएको नेपाली सेनाले लिने गरेको खुलेको छ। कोरोणा बाट मृत्युभएका मृतकको शव लैजाने र दाहसंस्कार गर्ने सबै काम सेनाले गर्ने र रकम पनी सेनाले नै लैजाने गरेको पाईएको हो।

चितवनमा कोरोनाबाट मृत्यु हुनेको दाहसंस्कार गर्न २८ हजार शुल्क लाग्ने! चितवनमा कोरोनाबाट मृत्यु हुनेको दाहसंस्कार गर्न २८ हजार शुल्क लाग्ने! Reviewed by Milan on May 18, 2021 Rating: 5

राप्ती १ पिप्लेमा बस दुर्घटना

May 17, 2021

   

पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका वडा नं १ मा बस दुर्घटना भएको छ । कलैयाबाट काठमाडौं जादै गरेको ना ७ ख ४८५५ नम्बरको बस सोमबार साँझ ७ बजेतिर पल्टिएको हो।


 दुर्घटनामा ४ जना गम्भीर घाइते भएको र उनीहरूको उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ‌। 


बसका चालक तथा सहचालक फरार रहेको र खोजतलास भईरहेको छ । एकै दिशामा गईरहेको कारलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई पल्टिएको हो ।

राप्ती १ पिप्लेमा बस दुर्घटना राप्ती १ पिप्लेमा बस दुर्घटना Reviewed by Milan on May 17, 2021 Rating: 5

तातोपानी आइपुग्यो व्यापारीले चीनबाट ल्याएको अक्सिजन सिलिन्डर

May 17, 2021


 ‘चीनले अनुदानमा दिएको भनेर हल्ला फिँजाइयो’

तातोपानी नाका, सिन्धुपाल्चोक — तातोपानी नाकाबाट सोमबार दिउँसो १२ बजे अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री भित्रिएका छन् । नेपाली व्यापारीले चीनको स्थलमार्ग हुँदै १८ हजार अक्सिजन सिलिन्डर चिनियाँ कन्टेनरमार्फत ल्याएका हुन् । 


सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाका अनुसार व्यापारिक प्रयोजनका लागि व्यवसायीले १८ हजार सिलिन्डर ल्याएका हुन् । ‘हालै भित्रिएका चार कन्टेनरमध्ये दुई कन्टेनरमा स्याउ र अन्यमा खाली सिलिन्डर छन्, अरु कति आउँदै छ त्यो आएपछि थाहा हुनेछ,’ सीमास्थित ‘बीओपी’का सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठले भने । अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार कन्टेनर नेपाल भित्र्याइएको उनको भनाइ छ ।


आइतबार नै स्वास्थ्य सामग्री नाकामा आइपुगेको भनेर प्रचार गरिएको थियो । तर तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार स्वास्थ्य सामग्री सोमबार दिउँसो मात्रै तातोपानी नाका आइपुगेको हो । ‘तातोपानी बजारमा कन्टेनर आइपुगेको छ, यहाँ आएपछि कन्टेनर खोलेर सम्पूर्ण तथ्यांक संकलन र वितरणमा जुट्नेछौँ, हामी सबै त्यसकै तयारीमा छौँ,’ उनले भने ।


व्यावसायिक प्रयोजनका लागि ल्याइएका ७५ सय सिलिन्डरसहित अन्य सामग्री भन्सार प्रक्रिया पुर्‍याएर आइतबार खासा क्षेत्रमा आइपुगे पनि सोमबार नाकामा आइपुगेको उनले उल्लेख गरे । व्यवसायीको भनाइअनुरुप बाटोमा रहेकामध्ये दस हजार सिलिन्डर एभरेस्ट ग्यासका सञ्चालक शिवप्रसाद घिमिरे र व्यवसायी दीपक मल्होत्राले आयात गरेका हुन् ।

चीनले अनुदानमा दिएको भनी प्रचार गरिएपछि...

आइतबार बिहान राष्ट्रिय समाचार समिति (रासस) मा अक्सिजन सिलिन्डर तातोपानी नाका आइपुगेको समाचार प्रकाशित भएको थियो । राससमा प्रकाशित समाचार अन्य सबैजसो सञ्चारमाध्यमले पनि प्रकाशित गरे । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेको भनाइ उद्धृत गरिएको उक्त समाचारमा ती सिलिन्डर चीन सरकारले अनुदानमा दिएको उल्लेख थियो । सुरुमा प्रेस सल्लाहकार पाण्डेले चीनबाट १८ हजार सिलिन्डर आउँदै गरेको भनेर सामाजिक सञ्जालमा लेखेका थिए ।



तर ती सामग्री चिनियाँ अनुदानमा नभई व्यवसायीले ल्याएको सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले खुलाए । ‘त्यो नितान्त प्राइभेट खरिद हो, सरकारी भन्ने कुनै जानकारी हामीले पाएनौँ,’ उनले भने । तर यसलाई अनुदानमा दिएको सिलिन्डर सरकारले छिट्टै ल्याएको भनी सरकारमा रहेका जिम्मेवार व्यक्तिले प्रचार गरेको उनको भनाइ छ ।

तातोपानी आइपुग्यो व्यापारीले चीनबाट ल्याएको अक्सिजन सिलिन्डर तातोपानी आइपुग्यो व्यापारीले चीनबाट ल्याएको अक्सिजन सिलिन्डर Reviewed by Milan on May 17, 2021 Rating: 5

चितवनका सामाजिक अभियान्ताद्धारा विपन्नहरुका लागी निशुल्क खानाको व्यवस्था

May 17, 2021


चितवन, जेठ ३ – चितवनका सामाजिक अभियान्ताहरुले निशुल्क खाना व्यवस्था गरेका छन् । भरतपुरका युवाहरुसहित विभिन्न संघसंस्थाका व्यक्तिहरु मिलेर निशुल्क खानाको व्यवस्था गरेका हुन ।


भरतपुरमा रहेका ७ संघसंस्थाहरु सन्देश फाउन्डेसन, न्यु वे फाउन्डेसन, रिकभरिंग नेपाल बागमती प्रदेश, द युनाइटेड चितवन, युवा समाज भरतपुर, विश्व हिन्दु युवा संघ चितवन, तपुर बजार व्यवस्थापन समिति लगायतका संस्थाहरु मिलेर निशुल्क खाना अभियान संचालन गरेका हुन ।


१५ दिनदेखी संस्थाले भरतपुरमा मजदुर काम गरेर बस्ने, बिहान बेलुका छाक टार्न समस्या रहेका, निषेधाज्ञाको कारण भोकभोकै बस्न परेकाहरुलाई निशुल्क खाना व्यवस्था गर्दै आएको छ । भरतपुरको केन्द्रिय बसपार्कमा उनीहरुले खाना बनाई विभिन्न ठाँउहरुमा भोकभोकै बस्न बाध्य भएकाहरुलाई सुचना भए अनुसार जहाँ छ त्यही पु¥याउने व्यवस्था गरेको सन्देश फाउन्डेसन अध्यक्ष दिवाकरराज श्रेष्ठले जानकारी दिए ।


निषेधाज्ञाको समयमा भोकभोकै बस्न बाध्य भएकाहरुले फोन नम्बर ९८५५०५१०५५, ९८६३५५५४०५ मा सम्पर्क गर्न सकिने श्रेष्ठले बताए । निशुल्क खाना सेवा अभियान चितवनमा निषेधाज्ञा जारी भैरहुञ्जेल गरिने उनले बताए । संस्थाले भरतपुरमा मात्रै नभएर चितवनका अरु क्षेत्रमा उक्त सेवा गर्ने उनले बताए । 

चितवनका सामाजिक अभियान्ताद्धारा विपन्नहरुका लागी निशुल्क खानाको व्यवस्था चितवनका सामाजिक अभियान्ताद्धारा विपन्नहरुका लागी निशुल्क खानाको व्यवस्था Reviewed by Milan on May 17, 2021 Rating: 5

जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको भन्दै महिलाद्वारा छिमेकीको हत्या

May 17, 2021


चितवन, जेठ ३ –चितवनमा पुरुषको हत्या गरेको आरोप एक महिला पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ईच्छाकामना गाँउपालिका ५ बस्ने ४५ वर्षीय काईली भन्ने सर्किना चेपाङलाई छिमेकीको हत्या आरोपमा पक्राउ गरेको हो।


प्रहरीका अनुसार वैशाख ३१ गते ईच्छाकामना गाँउपालिका ५ स्थित तिननम्बर पुलबाट ५० मिटर तल खोल्सामा ६५ वर्षीय गोपी प्रजाको शव फेला पारेको थियो । टाउकोमा चोट लागेको अवस्थामा प्रजाको शव भेटिएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी निरीक्षक सहितको टोलीले सर्किना चेपाङलाई पक्राउ गरेको हो।


गोपी प्रजाले रातको समयमा शारीरिक सम्बन्ध राख्ने भन्दै जबरजस्ती गरेको हुदाँ सर्किनाले आफुसंग भएको खुर्पाले टाउकोमा प्रहार गरी गम्भीर घाईते अवस्थामा छोडी गएको सर्किनाले स्विकार गरेको अनुसन्धानमा खुल्न आएको प्रहरी प्रवक्ता सरोज गिरीले जानकारी दिए । सर्किना चेपाङलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको गिरीले बताए । घटनामा प्रयोग गरिएको भनिएको फलामले बनेको धारिलो घरेलु हतियार पनि प्रहरीले बरामद गरेको छ । 

जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको भन्दै महिलाद्वारा छिमेकीको हत्या जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको भन्दै महिलाद्वारा छिमेकीको हत्या Reviewed by Milan on May 17, 2021 Rating: 5

खोइ चिनियाँ सिलिन्डर ? सांसदले लगे !

May 17, 2021

सांसद हिरा केसी र गंगा चौधरी

 काठमाडौं । चीन सरकारले अनुदानमा दिएको ४०० अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाले १३ वटा अस्पताललाई भाग लगायो । तर अधिकांश अस्पतालले विभागले तोकेअनुसार चिनियाँ सिलिन्डर नपाएको भेटिएको छ ।


२८ वैशाखमा स्वास्थ्य सेवा महाशाखाले विभागलाई पठाएको पत्रअनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जलाई ५० वटा सिलिन्डर तोकिएको छ । तर अस्पतालका कोभिड फोकल पर्सन सन्तकुमार दासका अनुसार ४० वटा मात्र सिलिन्डर आएको छ । चिनियाँ सिलिन्डर कति पायो अस्पतालले भन्ने प्रश्नमा उनले भने, ‘हामीलाई ५० वटा कोटा तोकिएको रहेछ । तर हामीले ४० मात्र पायौं । अरु तिर पनि वितरण गर्नुपर्ने भयो, बाँकी पछि दिन्छौं भन्नु भएको छ ।’



वीर अस्पतालको अवस्था पनि फरक छैन । अक्सिजन अभावमा बेड थप्न नसकिरहेको वीरले ५० वटा कोटा पाएको थियो । तर, २५ वटा मात्र पाएको छ । ट्रमा सेन्टरका लागि २५ वटा दिने भनेर जानकारी दिएपनि अझै पनि त्यहाँ पुगेको छैन । अधिकांश अस्पताललाई दिइएको भनिएका केही सिलिन्डरहरु पनि भरेर दिने भन्दै सीसीएमसीले नै राखेको छ ।


निजामती अस्पतालले ४५ वटामध्ये ३० वटा मात्र पाएको छ । अस्पतालका सूचना अधिकृत डा. सुमनबाबु मरहठ्ठा भन्छन्, ‘हामीलाई ३० वटा सिलिन्डर आएको छ । नौ वटा अक्सिजन कन्सन्ट्रेटर पनि आएकाले व्यवस्थापन भएको छ । बाँकी पछि दिन्छौं भन्नुभएको छ ।’


सशस्त्र प्रहरीको एपीएफ अस्पताल, कीर्तिपुर आयुर्वेद रिसर्च सेन्टर, काठमाडौं मेडिकल कलेज लगायतका अधिकांश अस्पतालमा स्वास्थ्य सेवा महाशाखाले तोकेअनुसार चिनियाँ सिलिन्डर पुगेको छैन । एपीएफले २५ वटामध्ये २० वटा, आयुर्वेदले २० मध्ये १५ वटा र केएमसीले २० मध्ये १० वटा मात्र सिलिन्डर पाएको छ ।


त्यसो भए कहाँ गयो त चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिन्डर ? त्यसको जवाफ दिन स्वास्थय मन्त्रालयका अधिकारी तयार छैनन् । किनकि सत्तारुढ नेकपा एमालेका सांसदहरुले राजनीतिक पहुँचका आधारमा आफ्नो निर्वाचन क्षेत्रमा भएको अस्पताल तथा आइसोलेसन सेन्टरमा ती सिलिन्डर लगेका छन् ।


दाङमा मात्र एमाले सांसदहरुले २७ वटा अक्सिजन सिलिन्डर लगेको पाइएको छ । सांसद शान्ता चौधरी र हिराचन्द्र केसीले १०-१० वटा र गंगा चौधरी सत्गौवाले ७ वटा चिनियाँ अनुदानका अक्सिजन सिलिन्डर लगेको पाइएको छ ।


एमाले सचेतक समेत रहेकी शान्ता चौधरीले अनलाइनखबरसँग भनिन्, ‘हामी जनप्रतिनिधि हौं, जनताले खोजिरहेका छन् । त्यसैले सिलिन्डर लगायतका स्वास्थ्य सामग्री लिएर जाँदैछौं ।’ सम्बन्धित अस्पतालबाट आएको माग फारमअनुसार स्वास्थ्य मन्त्रालयले सिलिन्डर उपलब्ध गराएको उनले बताइन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालका नाम राखेर लगिएका सिलिन्डर कसले कति पाउँछन् भन्नेबारे निर्क्योल नभएको चौधरीले बताइन् । उनले सिलिन्डर आफूहरुको लागि नभई निर्वाचन क्षेत्रका जनताको लागि भएको बताइन् ।


अर्की सांसद गंगा चौधरीले सिलिन्डरहरु लमहीस्थित कोभिड आइसोलेसन सेन्टरमा दिएकी छन् । अस्पतालको माग फारमअनुसार स्वास्थ्य विभागले अक्सिजन सिलिन्डरहरु दिएको भन्दै उनले भनिन्, विभागको भर्पाइ लगायतका सबै प्रमाण मसँग छ ।’

मन्त्रालयले चीनबाट ल्याइएका सिलिन्डर वितरण गर्न गरेको निर्णय
सरकारले तोकेको कोटाअनुसार सिलिन्डर नपाएका अस्पतालहरु भने अक्सिजन अभावसँग जुधिरहेका छन् । त्यसमध्ये एक हो, कीर्तिपुर आयुर्वेद रिसर्च सेन्टर ।

अस्पतालको एचडीयूका २५ र अब्र्जेभेसनमा रहेका ९ जनालाई अक्सिजन सपोर्ट दिनु परेको छ । यसका लागि दैनिक ३० सिलिन्डर अक्सिजन आवश्यक पर्छ । सरकारले तोकिदिएको उद्योगले मागअनुसार अक्सिजन उपलब्ध गराउन सकेको छैन । ‘उद्योगले दिनमा मुस्किलले १० सिलिन्डर अक्सिजन दिन्छ’ कोभिड फोकल पर्सन डाक्टर जितेन्द्र श्रेष्ठले अनलाइनखबरसँग भने, ‘बाँकी विभिन्न ठाउँमा हारगुहार गरेर जुटाइरहेका छौं ।’

अस्पतालले चिनियाँ सिलिन्डर १५ वटा अस्पतालले पाएको थियो । तर सिलिन्डर कहाँ भर्ने भन्ने सोधीखोजी गर्दा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आफूलाई दिए एक दिनपछि भरेर फिर्ता गर्ने प्रतिवद्धता जनायो । ‘सीसीएमसीले दिन्छु भनेपछि हामीले पुराना आठ वटा सिलिन्डर पनि दिएर पठायौं,’ श्रेष्ठ भन्छन्, ‘अहिलेसम्म त्यो सिलिन्डर आइपुगेकै छैन ।’

अस्पतालले पटक-पटक यसबारे सोध्दा सीसीएमसीले आइतबार साँझसम्म पठाउने भाका राखेको छ । तर, साँझसम्म चीन आएपछि दिइएका १५ वटा मात्रै होइन, अस्पतालले भरिने आशमा पठाएका ८ वटा सिलिन्डर पनि फर्किएको छैन ।

अक्सिजन अभाव भएपछि अस्पताल प्रशासनले बिरामीका आफन्तहरुलाई पनि अक्सिजन खोज्न आग्रह मात्र गरेको छैन, अक्सिजन अभावमा तलमाथि भए जिम्मेवार नहुने बताएको छ । ‘हामीले आपूर्ति धान्न सकेनौं, अक्सिजनका कारण केही तलमाथि भयो भने जिम्मेवार हुँदैनौं भनेर मौमिख रुपमा भनेका छन्,’ अस्पतालमा उपचाररत एक  कोरोना संक्रमितका आफन्तले भने ।




खोइ चिनियाँ सिलिन्डर ? सांसदले लगे ! खोइ चिनियाँ सिलिन्डर ? सांसदले लगे ! Reviewed by Milan on May 17, 2021 Rating: 5

अन्तर्राष्ट्रिय उडान: आफ्ना नागरिकलाई प्रतिबन्ध, भारतीयलाई अनुमति!

May 17, 2021

 

सरकारले नेपाललाई ‘ट्रान्जिट’ बनाएर विदेश जान नदिने भने पनि भारतीय नागरिकका लागि भने सातामा १० उडान अनुमति दिएको छ। भारतीय दूतावासको आग्रहमा भन्दै साउदी अरेबियाका विभिन्न गन्तव्यमा एकतर्फी यात्रु बोक्ने गरी सातामा १० उडान गर्न अनुमति दिइएको हो।


सातामा नेपाल एयरलाइन्सले ७ र हिमालयन एयरलाइन्सले ३ उडान गर्न अनुमति पाएका हुन्। परराष्ट्र मन्त्रालय र भारतीय दूतावासबाट पत्र आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएको हो।


भारतीय दूतावासले आग्रह गरेकै दिन गत वैशाख २९ गते परराष्ट्र मन्त्रालयले मागअनुसार उडान अनुमतिका लागि पर्यटन मन्त्रालयमा सिफारिस गरेको थियो। वैशाख ३० गते पर्यटन मन्त्रालयले भारतीय नागरिकलाई रोजगारीका लागि साउदी लैजान अनुमति दिएको हो। मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणमा पत्र पठाउँदै अनुमति कार्यान्वयन गर्न भनेको थियो।


कोरोनाको नयाँ भेरिएन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको थियो। वैशाख १५ गतेदेखि रोक लगाउने अध्यागमन विभागको निर्णय १५ दिन नबित्दै भारतीय नागरिकका लागि भने खुला गरिएको हो।


साउदीले भारतलाई यात्रा प्रतिबन्ध लगाए पनि नेपाललाई भने अझै आवतजावत गर्न अनुमति दिइरहेको छ। यसैको फाइदा उठाउँदै भारतीय नागरिक नेपाल भएर रोजगारीका लागि साउदी जान थालेका हुन्।


स्थल तथा हवाई मार्गबाट भारतीय नागरिक नेपाल प्रवेश गरिरहेको पाइएको छ। सरकारले नेपाल आउने भारतीयले नेपालमा होटल बुक गरेको पाइए स्थलमार्गबाट पनि आउन दिने निर्णय गरेको छ।


नेपाल–भारत एयर बबल सम्झौताअनुसार सातामा २ उडान हुन्छन्। यसअन्तर्गत आफ्ना नागरिक फर्काउन भनिए पनि भारतले एयर बबल सम्झौतालाई रोजगारीका लागि साउदी पठाउन प्रयोग गरिरहेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई उसले ट्रान्जिट बनाएको हो।


साउदी जाने भारतीय नागरिकले यहीँका अस्पतालमा कोरोना परीक्षण गर्ने गरेका छन्। यसै क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा आइतबार उनीहरूको भीड लागेको थियो। 



जहाँ रिपोर्ट लिन पुगेका एक भारतीय नागरिकले मंगलबार आफ्नो उडान रहेको बताए। अन्तर्राष्ट्रिय उडान गर्न यात्रुसँग ७२ घण्टाभित्र गरिएको कोरोना परीक्षणको रिपोर्ट चाहिन्छ।



भारतीय नागरिकलाई ठूलो संख्यामा आवतजावत गर्न दिँदा नेपालमा कोरोना संक्रमणको जोखिम थप हुनाका साथै साउदीले नेपाललाई पनि यात्रा प्रतिबन्ध लगाउने खतरा बढेको वैदेशिक रोजगार व्यवसायी बताउँछन्।


नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङ यसले नेपालीको रोजगारीमा समेत असर पर्ने आशंका गर्छन्। भारतीयका कारण नेपालीलाई प्रतिबन्ध लाग्ने र त्यसले त्यहाँ रहेका नेपाली श्रमिकलाई अप्ठेरो पर्न सक्ने उनको भनाइ छ। नेपाललाई प्रतिबन्ध लागे स्वदेश फर्किएका नागरिकले रोजगारी गुमाउने छन्।


सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेका कारण आफ्नै नागरिक भने संसारका सबै मुलुक जानबाट वञ्चित भइरहेका छन्। श्रम स्वीकृतिसमेत अनलाइनबाट मात्रै जारी भइरहेको छ। अहिले नेपाली श्रमिकलाई चार्टर उडान गरेर वैदेशिक रोजगारीमा पठाउने अवस्था नरहेको तामाङले बताए।



सरकारले यही जेठ १७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ। आन्तरिक उडान अनिश्चित कालका लागि बन्द छन्। चार्टर्ड र उद्धार उडान हुन सक्ने भनिए पनि सरकारले आफ्ना नागरिकका लागि कुनै देशमा उडान गरेको छैन।


तत्काल उडान गर्ने योजना पनि नरहेको परराष्ट्र र पर्यटन मन्त्रालयले जनाएको छ। भारतले भने नेपालबाट जहाज चार्टर गरेर आफ्ना नागरिकलाई वैदेशिक रोजगारीमा पठाइरहेको हो।


भारतमा कोरोना महामारीको दोस्रो लहर भयावह भएपछि साउदीले भारतबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ। यसैकारण भारतीय नागरिकले साउदी जान नेपाल प्रयोग गर्न थालेका हुन्।


यसअघि नियमित उडानका बेलादेखि नै नेपालीभन्दा बढी भारतीय नागरिक रोजगारीका लागि साउदी गएका छन्। त्यतिबेला पनि सरकारले भारतीय नागरिकलाई एनओसीसमेत नचाहिने व्यवस्था गरेको थियो। सुरुमा एनओसी लिएर गए पनि दूतावासमा भीड लागेपछि रोजगारीमा जाने आफ्ना नागरिकलाई एनओसीबिनै जाने व्यवस्था गर्न भारतीय दूतावासले नेपाललाई भनेको थियो।


आफ्ना नागरिकको भने शवसमेत विदेशमै रोकिएका छन्। रोजगारी अवधि सकिएका नेपाली पनि फर्किन पाएका छैनन्। मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले स्वदेश फर्किन नपाएर अलपत्र परेको केही नागरिकलाई त्यहाँस्थित नेपालीकै होटलमा बस्ने व्यवस्था गरिएको बताए।

अन्तर्राष्ट्रिय उडान: आफ्ना नागरिकलाई प्रतिबन्ध, भारतीयलाई अनुमति! अन्तर्राष्ट्रिय उडान: आफ्ना नागरिकलाई प्रतिबन्ध, भारतीयलाई अनुमति! Reviewed by Milan on May 17, 2021 Rating: 5

चौधरी फाउन्डेसनले १० करोड बराबर सहयोग गर्ने

May 17, 2021

 

चौधरी फाउन्डेसनले वीर अस्पतालमा आइसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको छ। फाउन्डेसनले आइतबार जारी गरेको विज्ञप्ति अनुसार वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आइसीयू वार्ड स्थापना गरिनेछ। 

यस्तै वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिनेछ। यससम्बन्धी सहमतिमा एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान र चौधरी फाउन्डेसनबीच हस्ताक्षर हुने बताइएको छ।त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको सुर्खेत नगरपालिकामा पनि एक–एकवटा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा फाउन्डेसनले गरेको छ। यसबारेमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको बताइएको छ। 

यी तीनै स्थानमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर प्रतिघन्टा हुनेछ। यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ। आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रूपैयाँ खर्च हुने अनुमान संस्थाले गरेको छ। अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकासँग सहकार्य गर्नेछ। संस्थाले केही दिनभित्रै सामग्री आयात गरी प्लान्ट निर्माण गर्न र वीर अस्पतालका साथै कर्णाली र सुदूरपश्चिममा हाल विद्यमान अक्सिजन अभावको समस्या समाधान गर्न सफल हुने विश्वास लिएको जनाएको छ।

यसका साथै फाउन्डेसनले तत्काल अक्सिजन कन्टन्ट्रेटर आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पताललाई उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि जानकारी गराएको छ।यी कन्टन्ट्रेटरहरू काठमाडौं र बाहिरका अस्पतालमा वितरण गरिनेछन्। फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि बढाएको बताएका छन्। 

‘अहिलेको मुख्य समस्या चिन्ताजनक अवस्थामा पुगेका बिरामीको जीवन रक्षा गर्नु हो, यसका लागि आइसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्टन्ट्रेसन सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण हुन्,’ उनले भने ‘हाम्रो अहिलेको ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ। हामी यही उद्देश्यका साथ कोरोनाविरुद्धको अभियानमा अगाडि बढेका छौं।

’फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपतकालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका दुई सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पिपिई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो। साथै, देशका अस्पतालहरूलाई भेन्टिलेटर सहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइएको थियो।

चौधरी फाउन्डेसनले १० करोड बराबर सहयोग गर्ने चौधरी फाउन्डेसनले १० करोड बराबर सहयोग गर्ने Reviewed by Milan on May 17, 2021 Rating: 5

चितवनमा ढुवानीका सवारी बिहान ६ बजे देखी २ बजेसम्म मात्र सन्चालन गर्न पाइने

May 17, 2021

 

चितवन – चितवनमा निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन बिहान ६ बजे देखी दिउँसो २ बजेसम्म मात्र सन्चालन गर्न पाइने भएको छ ।गत आईतबार जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा संसोधन गर्दै यस्तो निर्णय गरेको हो ।



प्रशासनले राजमार्ग भई अन्य जिल्लामा जाने मालबाहक सवारी साधन, निर्माण सामग्रीका सवारी साधन र खाली फिर्ता हुने सवारी साधन चितवनमा नरोकिने गरी संचालन गर्न पाइने जनाएको छ ।



चितवनमा कोरोना भाईरसको संक्रमण बढ्दै गएपछी जेठ १३ गते सम्म निषेधाज्ञा थपिएको छ भने  जिल्लामा थप कडाई गरिदै लगिएको छ ।



चितवनमा ढुवानीका सवारी बिहान ६ बजे देखी २ बजेसम्म मात्र सन्चालन गर्न पाइने चितवनमा  ढुवानीका सवारी बिहान ६ बजे देखी २ बजेसम्म मात्र सन्चालन गर्न पाइने Reviewed by Milan on May 17, 2021 Rating: 5

उदयपुर सिमेन्टको नयाँ रेकर्ड : सय दिनमा ४९ करोड नाफा

May 17, 2021

 

उदयपुर : व्यवस्थापकीय र प्राविधिक पक्ष सुधारसँगै उदयपुर सिमेन्ट उद्योगले उत्पादनमा नयाँ रेकर्ड कायम गरेको छ। राजनीतिक भागबन्डाका आधारमा गरिने महाप्रबन्धक नियुक्ति र कर्मचारी आन्दोलनले थलिएको उद्योग पछिल्लो समय व्यवस्थापकीय सुधारसँगै खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति हुन थालेपछि उत्पादन वृद्धि भएको छ हो। 

गत माघमा प्रवेश गरेका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको कार्यकालको सय दिनमा उद्योगले ४९ करोड आम्दानी गरेको हो। उद्योगले माघयता ६ करोड ६० लाख १ सय ७३ बोरा सिमेन्ट बिक्री गरेको हो। उद्योगले गैंडा सिमेन्ट उत्पादन गर्छ।

धराशायी बन्दै गएको उद्योगलाई गति दिन महाप्रबन्धक न्यौपानेले उद्योग बचाउका लागि अल्पकालीन र दीर्घकालीन योजना ल्याएको बताए। अधिकांश समय उद्योगभित्रै बिताएका उनले उद्योगको विगत १२ वर्षको इतिहास ब्रेक गर्दै १७ हजार ३ सय ६४ बोरा सिमेन्ट एकै दिन बिक्री गरेको बिक्री विभाग प्रमुख रामबहादुर जीसीले बताए। 

एकै दिनको बिक्रीले उद्योगलाई १ करोड २९ लाख ५० हजार ७१ रुपैयाँ प्राप्त भएको उनले बताए। पछिल्लो समय सिमेन्ट बिक्रीदर ह्वात्तै बढेको उनले बताए। जीसीले भने, ‘दैनिक सरदर ८ देखि १२÷१३ हजार बोरा सिमेन्ट बजार जाने गरेको छ।’ न्यौपानेले आफू उद्योग प्रवेश गरेको सय दिनको समीक्षा गर्दै आगामी योजना र हालसम्मका उपलब्धिसमेत सार्वजनिक गरेका हुन्। 

संकटपूर्ण अवस्थामा पुगेको उद्योगलाई पुनर्जीवन दिने प्रतिबद्धतासहित कार्यभार सम्हालेका न्यौपानेले देखिने गरी लक्ष्यअनुसार उद्योगलाई सञ्चालनमा ल्याएका छन्। उद्योग सुधारसँगै लगानी थप गर्ने तथा विदेशी लगानीसमेत जुटाउन अध्ययनसमेत सुरु गरेका छन्। २०७७ साउनदेखि पुस मसान्तसम्म ६ करोड ९८ लाख ५ सय ८६ बोरा सिमेन्ट बिक्री गरी ५२ करोड आम्दानी गरेको उद्योगले सय दिनमा क्षमताअनुसार आम्दानी गर्न सफल भएको प्रमुख जीसीले बताए।  पुससम्म ६५ करोड ८२ लाख दायित्व रहेकोमा उद्योगको आम्दानीबाट सरकारी राजस्व ७ करोड, कर्मचारी सेवा सुविधा भुक्तानी ८ करोड, वस्तु आपूर्ति सेवाको भुक्तानी ३० करोड, अवकाश कोषमा ४ करोड गरी रु. ४९ करोड भुक्तानी गरी सकिएको उनले बताए। 

पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उद्योग विगत दुई वर्षदेखि नेतृत्वविहीन अवस्थामा थियो। नयाँ नेतृत्व नपाएपछि उद्योग निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो। २०४४ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग एसियाको दोस्रो ठूलो र नेपालको पहिलो पूर्ण सरकारी स्वामित्वमा पर्छ। जापान सरकारले २०५१ सालमा नेपाललाई हस्तान्तरण गरेको थियो।

औपचारिक रूपमा उद्योगमा लोडसेडिङ नभए पनि बेलामौकामा झ्याप्प–झ्याप्प विद्युत् कटौती हुँदा समस्या आउने गरेको उद्योगका नायब महाप्रबन्धक नवलकिशोर साह बताउँछन्। विद्युत् वितरण नियमित हुने हो भने उद्योगलाई पहिलाकै गतिमा लैजान समस्या नभएको उनी बताउँछन्। विगतमा उद्योगको मुख्य मेसिन (गियर) मा बारम्बार समस्या आउने गरेकोमा अहिले त्यो ठाउँमा प्राविधिक तयारी अवस्थामा राखेर चलाउने गरेको उद्योग प्रशासनको भनाइ छ।

‘दक्ष जनशक्तिसँगै नयाँ गियर मेसिन ल्याई जडान गरिएको छ, अन्य मेसिन पनि बेलामौकामा मर्मत भइरहेका छन्’, नायब महाप्रबन्धक साहले भने, ‘विद्युत् समस्याबाहेक अब हामीसँगै कुनै त्यस्तो समस्या छैन, नियमित विद्युत् आपूर्ति हुनासाथ पुरानो इतिहासलाई जोगाएर राख्न सक्छौं।’

वि.सं. २०४९ सालदेखि व्यावसायिक उत्पादन थालेको उद्योगले स्थापनापछि २०५५ सालमा एक पटक धेरै बिक्री गरेको थियो त्यस पनि यो नै अर्को नयाँ कीर्तिमान भएको महाप्रबन्धक न्यौपानेले बताए। उनले भने, ‘म आउनुभन्दा अगाडि २०५५ मा यसको हाराहारी सिमेन्ट बिक्री भएको अभिलेखमा देखियो तर, त्यसयता बढीमा १२ हजार बोराभन्दा धेरै बिकेको रेकर्ड छैन।’ 

माघमा पहिलो चोटी उद्योग आउँदा कोइला, जिप्सनलगायत कच्चा पदार्थ नभएकाले १० दिनमा सामग्री जुटाएर उद्योग सञ्चालनमा ल्याएको न्यौपाने बताउँछन्। बिक्री विभागका अनुसार माघमा २ लाख ११ हजार १ सय ३८ बोरा सिमेन्ट बेचेको उद्योगले फागुनमा २ लाख ३८ हजार ३ सय ७१ बोरा बिक्री गरेको छ।  साउन १ देखि पुस मसान्तसम्म ६ लाख ९८ हजार ५ सय ८६ बोरा सिमेन्ट बिक्री भएकोमा न्यौपानेको सय दिनमा ६ लाख ६० हजार १ सय ७३ बोरा सिमेन्ट बिक्री भएको प्रमुख जीसीले बताए। अहिले उत्पादन र बिक्री दुवैमा प्रगति भएको र आफू आउँदा ६५ करोड ८२ लाख रहेको चालू दायित्वलाई सय दिनमा ४९ करोड भुक्तानी गरिसकेको न्यौपानेले बताए।

बाँकी १६ करोड दायित्व आउँदो असारभित्र भुक्तानी गरिसक्ने उनको भनाइ छ। ‘बाँकी दायित्व पनि चालू वर्ष (असार) भित्रै तिरिसक्ने गरी सिमेन्ट उत्पादन र बिक्रीमा मेरो ध्यान गएको छ’ उनले भने ‘यन्त्र उपकरणले धोका नदिए सहजै तिर्न सकिन्छ।’ 

पाँचहजार मेट्रिकटन भन्दा बढी कोइला तथा १ हजार ५ सय मेट्रिकटन जिप्सम र १ हजार टन आइरन मौजाद रहेको उनले बताए। करिब २८ वर्षअघि जापान सरकारको सहयोगमा स्थापना गरिएको उद्योगको अधिकांश मेसिन उपकरण मर्मत हुन नसक्दा उद्योग संकटमा थियो।

उद्योगले बर्सेनि एक अर्बको हाराहारीमा राजस्व योगदान पुर्‍याउँदै आएको महाप्रबन्धक न्यौपानेले बताए।  उद्योगको दैनिक ८ सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने क्षमता छ। उद्योगलाई हालकै क्षमतामा सञ्चालन गर्न करिब ३५ करोड लगानी गर्नुपर्ने उनले बताए। त्यसमा करिब २५ करोड थप लगानी गरी कारखानाको क्षमता प्रतिदिन ३ सय मेट्रिकटन थप भई दैनिक १ हजार १ सय मेट्रिकटन पुग्ने आकलन गरिएको छ।  २०४४ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग एसियाको दोस्रो ठूलो र नेपालको पहिलो पूर्ण सरकारी स्वामित्वमा पर्छ। उद्योगका नायब महाप्रबन्धक नवलकिशोर साहले विद्युत् वितरण नियमित नहुँदा समस्या आउने गरेको बताए। 

एक वर्षभित्र सस्पेन्सन प्रिहिटर सिस्टमबाट रिइनफोर्स सस्पेन्सन प्रिहिटर सिस्टममा परिवर्तन गरी प्रतिदिन तीन सय मेट्रिकटन क्षमता बढाई १ हजार १ सय मेट्रिकटन  उत्पादन गर्नेे लक्ष्य छ। 

त्रियुगा नगरपालिका—१६ सिन्दालीमा ७२ मिलियन टन चुनढुंगा छ। यो तीन सय वर्षसम्म धान्ने क्षमता हो।  त्यसमध्ये झन्डै २८ वर्षको हाराहारीमा ५० लाख टन खर्च भइसकेको छ र बाँकी ६ करोड ७० लाख टन ठूलो पहाड स्टकमै रहेको न्यौपानेले बताए। यसलाई ५० वर्षभित्र उपयोग गर्ने नीति छ।  ‘अन्य सिमेन्टका चुनढुंगाभन्दा उदयपुर सिमेन्टको चुनढुंगा राम्रो छ’, उद्योगका नायब महाप्रबन्धक साहले भने, ‘त्यसलाई खपत गर्न पनि उत्पादन क्षमता विस्तार गर्न जरुरी रहेको छ।’ ‘यहाँको चुनढुंगा सदुपयोग गर्न सरकारी तवरबाट सहयोग हुनु पर्छ’, साहले थप्दै भने, ‘क्षमता विस्तारको योजना सफल हुनासाथ मुलुकको ६५ प्रतिशत सिमेन्टको मागलाई सहजै आपूर्ति गराउन सकिन्छ।’

उदयपुर सिमेन्टको नयाँ रेकर्ड : सय दिनमा ४९ करोड नाफा उदयपुर सिमेन्टको नयाँ रेकर्ड : सय दिनमा ४९ करोड नाफा Reviewed by Milan on May 17, 2021 Rating: 5
Powered by Blogger.