चौधरी फाउन्डेसनले १० करोड बराबर सहयोग गर्ने

 

चौधरी फाउन्डेसनले वीर अस्पतालमा आइसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको छ। फाउन्डेसनले आइतबार जारी गरेको विज्ञप्ति अनुसार वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आइसीयू वार्ड स्थापना गरिनेछ। 

यस्तै वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिनेछ। यससम्बन्धी सहमतिमा एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान र चौधरी फाउन्डेसनबीच हस्ताक्षर हुने बताइएको छ।त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको सुर्खेत नगरपालिकामा पनि एक–एकवटा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा फाउन्डेसनले गरेको छ। यसबारेमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको बताइएको छ। 

यी तीनै स्थानमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर प्रतिघन्टा हुनेछ। यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ। आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रूपैयाँ खर्च हुने अनुमान संस्थाले गरेको छ। अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकासँग सहकार्य गर्नेछ। संस्थाले केही दिनभित्रै सामग्री आयात गरी प्लान्ट निर्माण गर्न र वीर अस्पतालका साथै कर्णाली र सुदूरपश्चिममा हाल विद्यमान अक्सिजन अभावको समस्या समाधान गर्न सफल हुने विश्वास लिएको जनाएको छ।

यसका साथै फाउन्डेसनले तत्काल अक्सिजन कन्टन्ट्रेटर आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पताललाई उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि जानकारी गराएको छ।यी कन्टन्ट्रेटरहरू काठमाडौं र बाहिरका अस्पतालमा वितरण गरिनेछन्। फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि बढाएको बताएका छन्। 

‘अहिलेको मुख्य समस्या चिन्ताजनक अवस्थामा पुगेका बिरामीको जीवन रक्षा गर्नु हो, यसका लागि आइसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्टन्ट्रेसन सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण हुन्,’ उनले भने ‘हाम्रो अहिलेको ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ। हामी यही उद्देश्यका साथ कोरोनाविरुद्धको अभियानमा अगाडि बढेका छौं।

’फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपतकालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका दुई सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पिपिई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो। साथै, देशका अस्पतालहरूलाई भेन्टिलेटर सहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइएको थियो।

चौधरी फाउन्डेसनले १० करोड बराबर सहयोग गर्ने चौधरी फाउन्डेसनले १० करोड बराबर सहयोग गर्ने Reviewed by Milan on May 17, 2021 Rating: 5

No comments:

Powered by Blogger.