बिस्तारै बोल्नुस्, तर्क वर्जित छ!
लेखक:- सरला गौतम
हेर्ने कथाका पात्र प्रकाशको आँसुमा भावुक बनिरहेकाहरू प्रकाश जन्माउने संरचनामाथि प्रश्न गर्दा उल्टै आक्रमण गरिरहेका छन्। प्रश्न गर्दा ‘ट्रोल’ भइने यो कस्तो चिन्तन!
देशमा अहिले यस्तो भइरहेछ। हेर्ने कथामा पात्र बनाइएका प्रकाश नामका पात्रले नागरिकता पाउने भए। सामान्य तरीकाबाट होइन, प्रधानमन्त्रीकै निर्देशनबाट। १० वर्षको उमेरमा काठमाडौंबाट हराएका प्रकाश हेर्ने कथाको फिल्मी पर्दामा ३५ वर्षपछि भेटिए।
उनको कथा हेरेर प्रधानमन्त्री भावुक भए। प्रकाशको जीवनमा धेरै समस्या छन्। सबैभन्दा ठूलो समस्या नागरिकताको रहेछ। यही कुरा प्रधानमन्त्रीको आशीर्वादले सल्टिने भयो। प्रकाशको कथाले हिजोसम्म आँसुमा डुबेका नेपालीको ओठमा आज हाँसो छाएको छ। आहा पिप्ली लाइभ!
नेपाल भन्ने देशलाई प्रकृतिले दिन बाँकी शायद केही राखेको छैन। बसौं बसौं लाग्ने देश छोडेर मान्छे दिनदिनै किन विदेशिएका छन्? यो प्रश्न अब नेपालीका लागि सामान्य भइसक्यो। यो देशमा रमाइलो कुरा त प्रधानमन्त्रीले बिहानै उठेर नागरिकता बाँडेको फेसबूकमा भाइरल हुनु हो।
प्रकाश १० वर्षको उमेरमा काठमाडौंबाट हराउँदा देशमा प्रजातन्त्र आइसकेको थियो। यही समयावधिमा संसारका कैयौं तन्नम देश अहिले विकास र समृद्धिको लेखाजोखा गर्दै छन्। हाम्रा तरुणलाई श्रम र पसिनाको लागि आह्वान गर्दै छन्। हाम्रा प्रधानमन्त्री फेसबूकमा भावुक हुँदै छन्, उनलाई मन पर्ने ब्रान्डको कथा हेरेर।
कथा हेरिरहँदा केपी शर्मा ओलीले के सोचे होलान्! लोकको हित गर्ने गरी प्रजातन्त्र आएको देशमा १० वर्षको बालक किन रोजगारीको खोजीमा हिंड्छ? ऊ किन हराउँछ र अचानक कथामा भेटिन्छ? संविधान र कानूनमा बकाइदा लेखिएका अधिकारका सवालहरू किन देश रुवाउने कथा बन्छन्? प्रशासन कार्यालयबाट केही घन्टामा सजिलै पाउने नागरिकताको सवाल किन चमत्कारको विषय बन्छ? यति सामान्य सेवा पाउन यत्रो महाभारत! कहाँ हरायो लोकतन्त्र, किन पुगेन लोकमा?
प्रधानमन्त्री ओली जति यो देशका नागरिक हुन्, प्रकाश पनि त्यति नै नागरिक हुन्। प्रकाशको जन्मसिद्ध अधिकार प्रधानमन्त्री ओलीले दिने बक्सिस होइन। पहुँचवालाले सजिलै पाउने अधिकार प्रकाशहरूको लागि सामाजिक अभियानको विषय किन बनिरहेछ?
मानिसका हात हातमा क्यामेरा छन्। कति वेला कसको कथाव्यथा भाइरल हुन्छ भन्न सकिन्न। कथाकारहरूको आफ्नै सीमा र तरीका हुन्छ। हेर्ने कथाको पनि आफ्नै रुचि, सीमा र क्षमता होला। उनीहरू त्यसकै परिधिमा बसेर काम गर्न पाउँछन्। ३५ वर्ष शानदार श्रम गरेका प्रकाश, दयाका पात्र देखिनु कथाकारको क्षमताको सीमा अवश्य हो। यस्तो खालको प्रस्तुति खोज पत्रकारिता हो या होइन, यो पनि बहसको विषय हो। तर अहिले मुख्य कुरा राज्य प्रमुखले देखाएको चटकी रवैयाको हो।
यूट्यूबरले जस्तो राज्य प्रमुखले कुनै नागरिकलाई दयाको पात्रका रूपमा व्यवहार गर्न मिल्छ कि मिल्दैन? श्रम गरेर बाँचिरहेको नागरिकले श्रमको मूल्य पाउने व्यवस्था हुने कि प्रधानमन्त्रीले चन्दा संकलनको व्यवस्था गर्ने? भावनाको आहालमा डुबेको देशमा तर्कको सातो गएको छ। प्रधानमन्त्रीको भावुक पोस्टमा नेपालीहरू यसरी जयजयकार गरिरहेछन्, मानौं यो देशमा एक रातमा समृद्धिको ठूलो क्रान्ति भयो।
यूट्यूबरले प्रकाशको कथा टिप्नु गलत भएन। उनको कथामा प्रधानमन्त्रीको प्रतिक्रिया पनि सामान्य हो। अधिकार पाउन आँसु भाइरल हुनै पर्ने हो भने यो चाहिं असामान्य हो। त्योभन्दा कठोर कुरा हो, हर सामान्य अधिकार र न्यायका लागि नेताको दैलो धाउनै पर्ने परम्पराको निरन्तरता।
हरेक कथाकारको कथाको विश्लेषण गरेर सकिने कुरा होइन। तर राज्यको यो खालको चटकी चरित्र चाहिं कठघरामा उभिनै पर्छ। सार्वभौम नागरिकलाई दयाको पात्र बनाउन पाइँदैन। सम्मानपूर्वक विना झन्झट पाउने अधिकारलाई बक्सिस दिए जस्तो गर्न पाइँदैन।
सर्वप्रिय पत्रकारितामा तर्क वर्जित हो?
अधिकार दिलाउन तीन करोड नेपालीको दुःखको कथा बनाएर सम्भव नहोला। कुनै एक पात्रको कथाले समग्र चित्र समेट्न सके त्यसले अस्तव्यस्त राजनीतिक प्रशासनिक अवस्थालाई बदल्न योगदान पनि देला। तर सयौं कथा बनिसकेपछिको कुल परिणाम एक जना नागरिकले नागरिकता पाउनु मात्र हो भने देश आँसुमा पौडी खेल्नुको के अर्थ हुन्छ? सिनेमा नबनेका नागरिकहरूको अधिकार र न्यायको सवाल के हुन्छ?
पत्रकारिता यदि कसैलाई कहिल्यै प्रश्न नगरी सर्वप्रियताको बाटोमा लम्किरहेको छ भने त्यो आफैं प्रश्नको घेरामा पर्नुपर्छ। मानिसले भोगिरहेका कुनियति मनोरञ्जनका कथा मात्र होइनन्। बिग्रेको व्यवस्थामा थलिएका नागरिकको व्यक्ति चित्र राज्यव्यवस्थाको समग्र चित्र होइन। प्रकाशकै कथामा पनि कथाकारको सामुन्ने रहेका शोषक मालिकले किन एक टिप्पणी भेटेनन्। ३५ वर्ष खेतबारीमा काम गरेको मानिसले संविधानमा भएको मोहियानी हक पाउने हो। दयामाया होइन।
प्रकाशको गृहजिल्लामा फिल्ममेकरकै वरिपरि रहेका प्रशासकलाई किन एक प्रश्न पनि गरिएन? यस्तो अपूर्ण कथा हेरेपछि दर्शकलाई भन्ने अधिकार छ- प्रश्न गरेको भए कथाको ‘फ्लो’ बिग्रन्थ्यो, बजार राम्रो हुँदैनथ्यो। प्रकाशहरू बजार होइनन्, नागरिक हुन्।
असल पत्रकार हुनु भनेको मुसुक्क हाँस्नु, बिस्तारै बोल्नु, प्रश्नशून्यताको अवस्थामा बस्नु हो भन्ने मनोविज्ञान नेपाली जनमानसमा तयार हुँदै गएको देखिन्छ। प्रश्न गर्नेलाई चण्डाल, अराजक र चरित्रहीनताको बिल्ला भिराइँदै छ। देशमा नाम चलेकै लेखक-पत्रकार तर्क र विश्लेषण गर्ने विरुद्ध जथाभावी ट्रोलिङ गर्ने अभियानमा लागिसकेका छन्। प्रश्नविहीन पत्रकारिताले तर्क, दृष्टि र दृष्टिकोणविहीन सामाजिक अवस्थाको निर्माण गर्ने हो। यति वेला त्यही भइरहेछ।
अव्यवस्थालाई प्रश्न गर्नु असजिलो कुरा हो। यसको बजार धेरै राम्रो पनि छैन। हिजो योगमायाले प्रश्न गर्दा अरुण नदीमा जलसमाधि लिनुपर्यो। मृदुल मुस्कान दिनेहरू सिंहासनमा विराजमान भए। आज विश्लेषण गर्नेहरू सामाजिक सञ्जालमा अग्निपरीक्षा दिंदै छन्। प्रश्नविहीनहरू दिलमा विराजमान छन्।
भारतीय फिल्म निर्देशक सत्यजित रोयले यसै भनेका होइनन्, ‘पूरै दक्षिणएशिया आँसुको राम्रो बजार हो।’
अझ मुसुक्क हाँस्नुपर्ने, खुसुक्क रुनु पर्ने केटीहरूले तर्क पेश गरे भने त उनीहरू अपराधी हुन्। कथाका पात्रहरूको आँसुको कारण के हो भनी खोजी गर्ने महिलाहरूको गजबसँग तेजोवध शुरू भएको छ। यो नौलो भने होइन।
मधेश आन्दोलन ताका सर्लाहीमा एक पात्र भेटिएकी थिइन्, गीता पासवान। जल्दोबल्दो मिहिनेती थिइन्। गरीबीको आगोमा परिश्रमले सुन झैं खारिंदै थिइन्। देशको राजनीतिक र सामाजिक अवस्थाबारे जानकार थिइन्। उनी केवल पीडाको पात्र थिइनन्। विचारको ज्वाला थिइन्। समसामयिक राजनीति र मधेश आन्दोलनको सवालमा उनको विचार लिएँ। विचार प्रसारण भएपछि मधेश हाँक्न लागिपरेको पूरै समाज उर्लिएर भन्यो, ‘एउटा गरीब मधेशी दलित महिलाको विचार कसरी हुन्छ? उनको त केवल पीडा मात्र हुन्छ।’
विचार र तर्क केही ठालुको पेवा ठान्ने समाजमा वेलावेला यस्ता अराजकता देखिनु सामान्य नै भयो। ट्रोलिङमा व्यस्त दाजुभाइ लेखक, पत्रकार, आफ्ना दाजुहरूको कफीको बाफमा बौद्धिक दर्शन देख्छन्, लेखक दाजुले जामा लगाएर नाच्दा समाधिको उत्कर्ष रूप देख्छन्। महिलाको तर्क र विश्लेषणमा सामाजिक रोग देख्छन्। सबैभन्दा ठूलो कुरा मानिसको दृष्टिको जे हैसियत हो, त्यही र त्यति नै देख्छन्।
आँसुको ‘ब्रान्डेड लोगो’ मा हराएको दृष्टिकोण
बर्नी स्यान्डर्सको इट्स ओके टू बी एंग्री अबाउट क्यापिटालिज्म पुस्तकको पहिलो पृष्ठमै उनले पूँजीवाद विरुद्धको आक्रोशलाई वैधताको नीलो टीका लगाइदिएका छन्। उनले भनेका छन्, ‘पूँजीवादको अनैतिकतासँग हामीले बहादुरीका साथ, निर्ममतापूर्वक र विना क्षमाभाव सामना गर्नुपर्छ।’
पूँजीवादले हाम्रो लत्ताकपडा र खानामा ‘ब्रान्ड’ टाँसिदियो। यसले किसानको भकारीको बीउलाई समेत छोडेन। पानीको बोतलले लोगो भिरिसक्यो। हावा बाँकी छ। यो सबै चिजको लाइनमा कतै हाम्रो भावना पनि उभिएको त छैन?
आजको दिनमा प्रभावशाली कथाहरू यत्रतत्र सर्वत्र छन्। देशका उच्च वर्गीय बौद्धिक र शासकहरूको आँखा केवल ‘ब्रान्डेड’ कथामा पर्छ। आँसुले उपचार पाउनुभन्दा पहिला उसले ‘ब्रान्ड’ पाउन जरूरी देखिन्छ। दुःख र समस्याका कथाको पनि लोगो चाहिएको छ। भव्य छायांकन नभएका र उत्कृष्ट सिनेमाटोग्राफी नभेटेका ‘लोकल’ कथाले यो देशका कुलीन दयालुहरूको ‘टाइमलाइन’ मा ठाउँसम्म पाउँदैन। आवाज त परको कुरा हो।
हेर्ने कथा जस्ता ‘क्लासी’ कथाहरूले नेपालका कुलीन गरीबप्रेमीलाई सजिलो पारिदिएको छ। सर्वत्र आइरहने दुःखपीडाको कथाले उनीहरूको ‘क्लास’ र कुलीनताको ओज थेग्न सक्दैन। ‘ब्रान्डेड’ कथाको शिल्प, छायांकन र कथाकारहरूको प्रोफाइल ‘एलिट-फ्रेन्ड्ली’ छ। सम्भ्रान्त महिला-पुरुष आफ्नो कुलीनता कायम राखेरै गरीबको मुखपत्र बन्न सक्छन्।
यही उच्च सुरक्षित मनोभावका साथ यी कथा ‘टाइमलाइन’ झुल्काइरहन्छन्। अझ महत्त्वपूर्ण यी कथाकारहरू कसैका लागि पनि खतराका विषय होइनन्। आफ्नो बाहेक बाँकी संसारको काममा चासो र चर्चा गर्दैनन्। सार्वजनिक बौद्धिक, नेता, व्यापारी र कुनै पनि सरोकारवालालाई कहिल्यै प्रश्न र आलोचना गर्दैनन्।
‘ब्रान्डेड’ कथामा पीडा दिने मान्छेको अनुहार पनि मायालाग्दो देखिन्छ। पीडित र पीडक दुवै यस्ता कथा हेरेर आँसु बगाउन सक्छन्। आममानिसको शरीरमा कुनै कम्पन हुँदैन। मन दुख्छ, संवेदना जाग्छ, तर पीडितको आँखाको आँसुको कारण खोज्ने चेत जाग्दैन।
सिनेमामा देखाइएका पीडितका आँसुले राज्य सञ्चालकको अकर्मण्यता छेकिदिन्छ। बिचराहरूको कर्मै यस्तो भन्ने भाव दर्शकमा जगाइदिन्छ। लोकतन्त्र केवल ठालुहरूको वरिपरि घुमेको क्यामेराको लेन्सले देख्दैन। यस्ता सुन्दर कथामा ठग पनि रुन्छ, ठगिने पनि रुन्छ। कुनै वेला सबै देश एकै पटक रुन्छ। सर्वप्रिय पत्रकारिताको अनुपम नमूना यही नै हो।
यस्ता ‘भ्युजकारिता’ लाई नै सम्भ्रान्तहरूले खोज पत्रकारिता भनिदिने हो भने सारा अराजकतासँग भिडेर जीवन नै जोखिममा पारेर गरिने पत्रकारिता के हो? एउटै सरोकारवालाको मन कहिल्यै नदुख्ने गरी, कहिल्यै कसैलाई रिस नउठ्ने गरी खोज पत्रकारिता गर्न कसरी सम्भव छ? सामाजिक-प्रशासनिक अराजकताको कारण नागरिकले अधिकार नपाएको कुरा हेरेपछि प्रधानमन्त्रीलाई लाज लाग्नुपर्ने हो, टाउको लुकाउनुपर्ने हो। भगवान्को रूपमा प्रकट भएर अधिकारको बक्सिस दिने आँट कसरी आउँछ?
यो बहसको विषय हो। सर्वप्रियताको लालच खतरनाक कुरा हो। यसले तर्क, दृष्टि र दृष्टिकोण निर्माणमा समाजलाई अघि बढ्नै दिंदैन। यही कारण देशमा प्रजातन्त्र आएको ३५ वर्षमा प्रधानमन्त्रीले नागरिकता बाँडेको कुरा मूलधारका मिडियाको ‘हेडलाइन’ बन्छ। आँसु र तमासाको ककटेल जुहारीमा देश मग्न छ।
यस्तै तमासामा रमाउँदै जाने हो भने ठीकै छ। तार्किक समाजको निर्माण गर्ने हो भने चाहिं सर्वप्रियताको बाटोको लोभ छोड्नै पर्छ। प्रधानमन्त्री, मन्त्री, कुलीन बौद्धिक र भावुक नागरिकले सोच्नै पर्ने कुरा- देश कस्तो बनाउने? प्रश्न, आलोचना, दृष्टि र दृष्टिकोण सहित अधिकारसम्पन्न या भावुकताको आहालमा डुबेको चिसो देश। नागरिकको आँसु भाइरल बनेपछि बक्सिसमा अधिकार पाउने राज्य संरचना या सार्वभौम नागरिकले सहजै अधिकार अभ्यास गर्न पाउने देश। फुर्सदमा सोचौं- लोकतन्त्र लोकसम्म किन पुगेन?